बाबुरामको प्रश्न : ..यो सरकारको नेतृत्वले गौर हत्याकाण्डका पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ?


काठमाडौं, २३ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गौर हत्याकाण्डका पीडितलाई सरकारले न्याय दिने हिम्मत र हैसियत राख्ला भनेर प्रश्न उठाएका छन् । उनले गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसवारे पीडित आन्दोलवकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ नहुने टिप्पणी गरेका छन् ।

नेपाल सरकार, गृहमन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भएकै दिन अध्यक्ष भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले गौर हत्याकाण्ड मधेशका उत्पीडित वर्ग र समूदायका निहत्था नागरिकहरुलाई मुक्ति आन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चश्वशाली शक्तिहरुले सुनियोजित ढंगले मच्चाएको नृसंस आतंक र हत्याकाण्डको संज्ञा दिएका छन् ।

Related News:

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृहमन्त्रालयबीच ५ बुँदे सहमति (सहमति पत्रसहित)

उनले फेशबुकमा लेखेका छन्-

गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसवारे पीडित आन्दोलवकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न।

स्मरण रहोस् यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन! यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुनियोजित ढंगले मच्चाएको नृसंस आतंक र हत्याकाण्ड थियो।
तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुॅडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला?भविष्यले बताउनेछ। शान्तिप्रकृया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसवारे केही गर्न नसकेकोमा आत्मालोचित छौं। सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस्! सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ!