काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । उनले गृहमन्त्रीसँग अब राजीनामा दिनुबाहेक अर्को कुनै विकल्प बाँकी नरहेको पनि टिप्पणी गरे ।
आज (आइतबार) पार्टी मुख्यालय, च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलीले गृहमन्त्रीको राजीनामा मागेका हुन् । उनले एयरपोर्टजस्तो संवेदनशील ठाउँबाट नै एक क्विन्टल सुन तस्करी प्रकरणले गृहमन्त्री श्रेष्ठको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको टिप्पणी गरे ।
छानबिन समितिमा हामीले एमालेका मान्छे राख्ने भनेको हो र ?
ओलीले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । उनले भने–‘छानबिन समिति भनेको एमालेले आफ्ना मान्छे राखेर भनेको हो र ? हामीले त न्यायिक छानबिन भनेको हो । एसपीको नेतृत्वमा अनुसन्धान गरेपछि एसएसपीले निर्देशन दिएपछि एसपीले आदेश पालना गर्नुपर्छ । देश यति गम्भीर अवस्थामा पुगेको छ । त्यसैले गम्भीर हुनुपर्छ ।’
उनले अहिले ‘गोल्डेन–टच’ भैरहेको प्रसंँग सुनाए । उनले भने,‘जे आएपनि सुन, आईफोन पनि सुन । ब्रेक–सु सुन । भन्सारबाट त अहिले जे आएपनि सुन । हामी सबै गम्भीर हुनुपर्छ । यो देश रित्याउने मामिला हो । यसबाट हामीले देशलाई बचाउनैपर्छ । त्यसकारण यो पक्ष वा त्यो पक्ष नभनौं ।’
उनले सुन तस्करी प्रकरणमा निश्पक्ष छानबिनको मागलाई दोहोर्याए । उनले भने,‘टप्पो टुप्पोमात्रै हेरेर हुँदैन, जरोसम्मै पुग्नुपर्छ । अहिले हेर्नुहोस त एक जना नेताले २३४ पटक कुनै गिरोहसँग लगातार सम्वाद गरेको कुरा बाहिर आएको छ ।’
अध्यक्ष ओलीले सम्बोधन गर्नुअघि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस वक्तव्य वाचन गरेका थिए । सो क्रममा उनले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको र यही सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरेका थिए । Photo By: Mukunda Kalikote/RN




प्रतिक्रिया