काठमाडौं, १८ असोज । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले भन्सार नियामावलीमा लुटकारी व्यवस्था राखेको भन्दै त्यसलाई खारेजीको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले यस्तो माग गरेका हुन् । उनले भने,केही दिनअघि मैले यही सम्मानित सदनमा मैले भन्सार नियामावली संशोधनको कुरा उठाएको थिएँ । भन्सार नियामावलीमा रहेको लुटको प्रावधान खारेजीको माग गरेको थिएँ । यस विषयमा अहिलेसम्म के भयो म जान्न चाहन्छु । दुःखका साथ भन्नु परेको छ की राज्यको भ्रष्ट चरित्र र लुटकारी प्रावधानले गर्दा राजश्व राज्यकोषमा जम्मा हुन सकिरहेको छैन् । उठ्न त राजश्व उठछ्, तर राज्यकोषमा आउँदैन् । राज्यका विभिन्न निकायका भ्रष्ट चरित्रका कारण, भ्रष्ट अवसर र सरकारका कारण ती रकमहरु व्यक्तिगत खातामा जान्छन् ।’
सांसद साहले केही पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको एक क्विन्टल सुन प्रकरणबारे पनि कुरा उठाए । उनले भने,‘हामी जान्न चाहन्छौं, केही दिनअघि बडा चर्चित एक क्विन्टल सुन समातिएको थियो । त्यो सुन कति नेपालको राजश्वमा जम्मा भयो ? एकचोटी यो सदनमा जानकारी गराओस भनेर म माग गर्न चाहन्छु । सुराकीको नाममा १५ केजी सुन निकाल्ने, समात्नेको नाममा झण्डै ३० प्रतिशत, ३० केजी सुन अरुले लिने भनेपछि राज्यकोषमा कति आयो भन्ने प्रश्न आउँछ ।’
उनले भन्सार नियामावलीमा लुटकारी प्रावधान राखिएको भन्दै कडा आपत्ति जनाए । उनले थपे–‘भन्सार नियामावलीमा ४५ प्रतिशत कथित पुरस्कारको व्यवस्था गरिएको छ । जसले सुराकी दियो त्यो सुनको बारेमा उसले १५ प्रतिशत कमिशन पाउनैपर्छ । जसले समात्यो उसले ३० प्रतिशत पाउनैपर्छ । भनेपछि ४५ प्रतिशत निकाल्यो भने राज्यकोषमा कति आउँछ ?’
साहले नेपालमाजस्तो लुट्ने कर विश्वको कुनै पनि देशमा नभएको जिकिर गरे । सरकारले लुटकारी प्रावधान खारेज गर्न पनि उनको माग छ । उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुले भन्सार विभागमा पुगेर यसबारे सरोकारवाला अधिकारीलाई भेटेरै ध्यानाकार्षण गराएको स्मरण गराए ।




प्रतिक्रिया