कोमल वलीको दाबी : नेपालमा अब राजसंस्था फर्किँदैन् (भिडिओसहित)


काठमाडौं, १२ कार्तिक । नेकपा (एमाले) की नेतृ एवम् राष्ट्रियसभाकी पूर्व सदस्य कोमल वलीले नेपालमा अब राजसंस्था नफर्कने दाबी गरेकी छिन् । उनले नेपालमा राजवादीहरुले कुरा उठाएपनि अब नेपालमा राजसंस्था फर्कने कुनै सम्भावना नभएको ठोकुवा गरिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेकी हुन् ।

वलीले देशमा राजनीतिक स्थायित्व नहुनु र अस्थिरता हुनुको प्रमुख कारण नै साना पार्टीहरु भएर भएको टिप्पणी गरेकी छिन् । उनले भनिन्–‘बास्तवमा भन्ने हो भने आज देशमा जस्तो अस्थिरता सिर्जना भैरहेको छ, यो ठूला पार्टीहरु भन्दापनि सानो पार्टीहरु धेरै भएर समस्या भएको हो । सायद जनताले ०८४ को चुनावमा बुझ्नुहुन्छ होला ।’

पत्रकार धमलाले ०८४ को निर्वाचनमा ठूला दललाई एक सिट पनि नदिने भनेर रास्वपाका सभापति रवि लामिछानेले घोषणा गरिसक्नुभयो नि ? भनेर सोधेको प्रश्नमा नेतृ वलीले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले ०८४ को निर्वाचनमा जनताले ठूला दललाई नै बहुमत दिएर सरकारमा पुर्याउने दाबी गरिन् ।

उनले कांग्रेस, एमाले र माओवादीमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताईन् । उनले गठबन्धनको सरकारले गर्दा जनतामा निराशा छाएको र प्रश्न उठेको पनि दाबी गरिन् । उनले एमाले सरकारमा हुँदा खासै प्रश्न नउठेको जिकिर गरिन् । उनले भनिन्,‘आजपनि नेकपा एमालेमाथि प्रश्न उठेकोजस्तो मलाई लाग्दैन् ।’

नेतृ वलीले एमालेले एकमना सरकार निर्माण गर्ने अवसर नपाएको उल्लेख गर्दै ०८४ मा एकल बहमुतको लागि अहिलेदेखि नै अभियान चलाएको स्पष्ट पारिन् । उनले कांग्रेसले हिजो आयोजना गरेको चियापानमा प्रधानमन्त्री पुष्कमल दाहालसँग राजनीतिक विषयमा कुराकानी भएको स्मरण गराईन् । सो क्रममा प्रधानमन्त्री दाहालले नेकपाको एकता जोगाउनको लागि वलीको शुभेच्छा रहेको स्मरण गराएका थिए ।

उनले पछिल्लो समय एमालेप्रति क्रेज र जनताको आकर्षण बढेको दाबी गरिन् । उनले आफूहरुले ०८४ मा बहुमत ल्याएर देखाईदिने पनि चूनौति दिईन् । नेतृ वलीले नयाँ दलहरुले पनि आफूहरुको सिको गरेको आरोप लगाईन् ।