महेश बस्नेतको आक्रामक अभिव्यक्तिः ‘बाज उडिरहेको छ भने बाण हान्ने हो, आँखा चिम्लिने होईन’


काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय युवा संघसँग टक्कर दिन खोज्नेले ठक्कर खाएर फर्किन पर्ने बताए ।

आज (शुक्रबार) युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले युवा संघसँग निहुँ नखोज्न चेतावनी दिएका हुन् । उनले युवा संघले राजतन्त्रको भूत पन्छाउने काम गरेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रका कयौं कमीकमजोरी रहेपनि यसको विकल्प रातन्त्र हुन नसक्ने उनले बताए । प्रक्रियावादीहरु सल्बलाइरहेको बेला एमाले र युवा संघ नेपाल सडकमा उत्रिदा कांग्रेस, तरुण दल र वाइसिएल दुलोभित्र पसेको उनले टिप्पणी गरे ।

अब युवा संघको अभियान झापाबाट सुरु हुने उनले उद्घोष गरे । अब युवा संघले झापाबाट धुप बाल्ने उनले बताए । उनले दुर्गा प्रसाईँतर्फ लक्षित गर्दै बाज उडिरहेको छ भने युवा संघ आँखा चिम्लिएर नबस्ने बरु त्यसको प्रतिकारमा बाण हान्ने बताए ।

साथै, उनले गणतन्त्र विरोधीहरुलाई एमाले नेता तथा कार्यकर्तालाई छोएर देखाउन चुनौति दिए । उनले युवा संघलाई जुध्न बाध्य नपार्न समेत आग्रह गरे । एमालेका नेता तथा कार्यकर्ता र शुभचिन्तकलाई गणतन्त्रवादीहरुले जिस्काउने काम गरेमा एमालेको पंत्ति अरिङ्गाल भएर मैदानमा आउने उनको भनाई छ ।