रामधुनी नगरपालिकाकी तत्कालीन उपप्रमुख चौधरीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, ११, मंसिर ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाकी तत्त्कालीन उपप्रमुख सविनाकुमारी चौधरीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आज (सोमबार) गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन नगर उपप्रमुख चौधरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी र सव–इन्जिनियर हर्षलाल चौधरी, तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरीलगायतलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नं. ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी कितावमा चढाई बढी भुक्तानी गरेको अख्तियारको आरोप छ ।

उनीहरुले स्थलगत रुपमा नापजाँच गरी नापी किताबमा वास्तविक परिमाण चढाउने र निर्माण व्यवसायीले पेश गरेको बिल सही छ छैन चेकजाँच गरी कार्यसम्पन्न प्रतिवेदन तयार गर्नुपर्नेमा निर्माणस्थलमा नगरे नगराएको काम भएको भनी घटी परिमाणमा सम्पादन भएको कार्यहरुको बढी परिमाण नापी किताबमा समाबेश गरी गलत प्राविधिक प्रतिवेदनसमेत तयार गरी झुट्टा बिल, नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको आरोप पत्रमा उल्लेख छ ।

उनीहरुविरुद्ध दुई लाख १२ हजार त्रिहत्तर रुपैयाँ अन्ठाउ पैसा विगो मागदाबी रहेको छ । साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद एवं जरिवाना माग दाबी गरिएको छ ।

साथै, रामुधनी नगरपालिका–३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी, वडा नं.३ का तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनील कुमार चौधरीलाई पनि प्रतिवादी बनाइएको छ ।

त्यसैगरी, जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानुकुमारी निरौला (बस्नेत) लाई पनि प्रतिवादी बनाइएको छ । उनले सरकारी सम्पत्तिमा गैरकानूनी हानि र आफूलाई लाभ पुर्‍याउने बदनियतले रामधुनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माणस्थलमा सम्पादन नै नभएको र नापी किताब एवं ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाई भुक्तानी लिएर भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ ।

Skip This