काठमाडौँ । निर्वाचन आयोगले देशभरको मतदाता नामावली अद्यावधिक गरी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। आयोगका अनुसार गत प्रतिनिधिसभा निर्वाचनपछि देशभर १ लाख ८७ हजार ६८६ जना नयाँ मतदाता थपिएका छन्। यसअघिको प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाताले मताधिकार पाएका थिए।
अद्यावधिक गरिएको विवरणअनुसार अब देशभर कुल मतदाताको सङ्ख्या १ करोड ९० लाख ९१ हजार ३७५ पुगेको छ। जसमा पुरुष मतदाता: ९७ लाख ६९ हजार ८२५, महिला मतदाता: ९३ लाख २१ हजार ३३६ र अन्य: २१४ जना जना रहेका छन् ।
यो विवरण गत चैत २२ गतेदेखि भदौ १५ गतेसम्म सङ्कलन तथा अद्यावधिक गरिएको आयोगले जनाएको छ।
यसैगरी, मतदाता नामावलीलाई शुद्ध र अद्यावधिक बनाउने क्रममा आयोगले कुल १ लाख ५८ हजार २६४ जनाको नाम सूचीबाट हटाएको छ, जसअन्तर्गत मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम परेका, नेपाली नागरिकता त्यागेका वा नागरिकता रद्द भएका व्यक्तिहरूको नाम हटाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया