काठमाडौं, १३ मंसिर । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले नेपालमा अब राजसंस्था फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘राजसंस्था फर्कने म त्यति सम्भावना देख्दिनँ । किन देख्दिनँ भने मानौं तपाईंलाई कुनै खाना खान दिईयो, त्यसले पोषण दिएन भने तपाईंले सढेको कुरा फेरि खाने होईन । तपाईंले नयाँ खाना खोज्ने हो । पोषणयुक्त खाना खोज्ने हो । आफ्नो खानामा सुधार गर्ने हो । बितिसकेको कुरा फेरि खाने होईन । त्यो कुरा जनतालाई पनि थाहा छ । राजसंस्था बितिसकेको अतित हो । त्यो पूनः यहाँ ल्याउन पनि मिल्दैन् । त्यो त हामीले भोगिसकेको व्यवस्था हो । अहिले समय सान्दर्भिक पनि नभएको हुनाले त्यो टिक्ने वा आउने कुनै छाँटकाँट नै देख्दिनँ ।’
उनले व्यवस्थाविरुद्ध काठमाडौंमा भएको आन्दोलनमा प्रलोभनमा व्यक्तिहरुलाई ल्याईएको आरोप लगाएका छन् । काठमाडौं आएका केही जनताहरुको माग भने जायज रहेको पनि उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कसैको लघुवित्तका समस्या थिए । कोही चाहीँ बैंकका ऋण तिर्न नसकेकाहरु थिए । कोही चाहीँ वर्तमान सत्ताका पात्रहरुबाट आजित थिए । त्यसलाई नै समग्र रुपमा गणतन्त्रमाथिको आक्रामण भन्न मिल्दैन् । र, वर्तमान व्यवस्थामाथि खतरा नै आईपर्यो, यो खारेज नै हुन लाग्यो भनेर भन्न चाहीँ मिल्दैन् ।’ उनले २४० वर्ष राजसंस्था हुँदा नेपालमा के विकास भएको थियो ? भन्दै प्रश्नसमेत गरे ।
उनले भने,‘राजावादीहरुले दुई÷तीन वटा तर्कहरु धेरै दिन्छन् । एउटा चाहीँ विकास भएन भन्नुहुन्छ । पहिला चाहीँ राजसंस्था, २४० वर्षसम्म हुँदाखेरि के विकास भएको थियो ? र, अहिले म त त्यति पनि भन्दिनँ, अहिले संघीयता लागु भएको भर्खरै त हो, ८ वर्षजति भयो । प्रभावकारी रुपमा त भएको छैन्, नाममात्रको छ । त्यही पनि हेरौं, भर्खरै एक कार्यकाल स्थानीय सरकारले पूरा गरेको छ । अर्को कार्यकालको एक/डेढ वर्ष पूरा गरेको छ । यो यति छोटो समयमा कति विकास भयो ? त्यो हेर्नुहोस । यो भन्दा अगाडि १०० वर्षमा के विकास भएको थियो ? त्यो आँकडा हेर्नुहोस । एक सय वर्ष उनीहरुले एकदमै विकास भैरहेको थियो भनेर डम्फु बजाईराखेका छन्, तर बाटो/घाटो कहाँ थियो ? यही पाँच वर्ष स्थानीय सरकारले काम गर्दाखेरि, अहिले गल्ली गल्लीमा ढलान गरिएको छ । जनताको घर आँगनअघि पहिले हिलो नै हिलो हुन्थ्यो, अहिले ढलान गरिएको छ । बाटो बनेको अवस्था छ । जुन चाहीँ शताब्दीमा बन्न सकेन, त्यो यही ५/७ वर्षमा बनेको अवस्था छ नि, अझ पाँच वर्ष काम गर्न दिनुहोस न। धेरै कुरा विकास हुन्छ । त्यही भएर यो तुलना गर्न नै मिल्दैन् ।’




प्रतिक्रिया