हाम्रो पार्टी नेपालको राजनीतिक प्रतिवेदन र ब्रह्माण्डको ‘नयाँ राजनीतिक दर्शन, नयाँ राज्यप्रणाली एक अवधारणा’ सार्वजनिक


काठमाडौं, २३ पुस । हाम्रो पार्टी नेपालले बाँकेको कोहलपुरमा आयोजित प्रारम्भिक भेलाबाट पारित राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उक्त राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको हो । साथै, हाम्रो पार्टी नेपालका संस्थापक एवं संयोजक गोविन्द बोहोरा ‘ब्रह्माण्ड’ द्वारा लिखित किताब ‘नयाँ राजनीतिक दर्शन, नयाँ राज्यप्रणाली एक अवधारणा’ विमोचनसमेत गरिएको छ ।

हाम्रो पार्टी नेपालका संस्थापक एवं संयोजक ब्रह्माण्ड, प्रा.डा विष्णु दाहाल, मनोक्रान्ति अभियान्ता शिवराज घिमिरेलगायतका अतिथिहरुले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए । कोहलपुरको भेलाले पारित गरेको हाम्रो पार्टी नेपालको राजनीतिक प्रतिवेदनमा राष्ट्राध्यक्ष प्रणाली, विशेष अधिकारसहितको संवैधानिक राष्टाध्यक्ष, प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले सर्वोत्तम व्यक्तिलाई राष्ट्राध्यक्ष छान्नुपर्ने परिकल्पना गरेको छ ।

राजनीतिक प्रतिवेदन सार्वजनिक र पुस्तक विमोचनपछि सभालाई सम्बोधन गर्दै हाम्रो पार्टी नेपालका संस्थापक एवं संयोजक ब्रह्माण्डले अब नेतृत्वमा रहेका शीर्ष नेताहरुले विश्राम लिनुपर्ने बताए । पञ्चायती निरङ्कुश व्यवस्थाको विरुद्धमा लडेर देशलाई अहिलेको अवस्थामा पुर्याएकोमा उनले शीर्ष नेताहरुलाई धन्यवाद दिए । कोहलपुरको प्रारम्भिक भेलाले पारित गरेको राजनीतिक प्रतिवेदनको आधारमा अब आफूहरु जनतामाझ जाने पनि उनले बताए ।

‘प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओलीलगायत जो–जो नेतृत्वमा हुनुहुन्छ । तपाईँहरु अब विश्राम लिनुस् । तपाईँहरुलाई हार्दिक धन्यवाद यस अर्थमा दिन्छौं कि २०६२÷०६३ को आन्दोलनपछि बुर्जुवा संविधान भएपनि, यो संविधानको राम्रो उपलब्धी भनेको जनताले शान्तिपूर्ण तरिकाले सम्पूर्ण परिवर्तन गर्नसक्ने स्थितिको निर्माण हो ।’ उनले भने, ‘जनताको हातमा सार्वभौम अधिकार आएको हो । तपाईँहरुले जति संघर्ष गर्नुभयो, त्यसको हामी सम्मान गर्छौं ।’

हाम्रो पार्टी नेपालका केन्द्रीय सदस्य चक्र बुढा, मनोक्रान्ति अभियन्ता एवं साधक शिवराज घिमिरे, प्रा.डा विष्णु दाहाल, हाम्रो पार्टी नेपालका संस्थापक सदस्य सरगम गिरीले प्रारम्भिक भेलाले पारित गरेको राजनीतिक प्रतिवेदन र विमोचन गरिएको पुस्तकका बारेमा धारणा राखेका थिए ।