काठमाडौं, माघ १२ । मित्रराष्ट गणतन्त्र भारतले आज ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित भारतले धुमधामका साथ गणतन्त्र दिवस मनाउँन लागेको हो ।
गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिकारुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमन्त्रित गरेको छ । भारत–फ्रान्स रणनीतिक साझेदारीको २५औँ वर्षगाँठका अवसरमा उनी भारतको सबैभन्दा ठूलो सरकारी महोत्सवमा सरिक भएका छन् ।राष्ट्रपति मैक्रोको आतिथ्यतालाई ध्यानमा राखेर सरकारले दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जसकालागि १४ हजार सुरक्षाकर्मी परिचालित छन् ।
सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।
भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो । त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ । लैनचौरस्थित भारतीय दूतावासले समेत विविध कार्यक्रम गरी आज ७५ औँ गणतन्त्र स्थापना दिवस मनाइँरहेको छ ।




प्रतिक्रिया