जनताको भरोसा जित्न व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आवस्यक छः पूर्वसांसद क्षेत्री


काठमाडौं, ७ साउन । लुम्बिनी प्रदेश सभाकी पूर्व सांसद निर्मला क्षेत्रीले जनताको भरोसा जित्न पार्टीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आवस्यक रहेको बताएकी छन् । सोमबार काठमाडौँमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

पूर्व सांसद क्षेत्रीले भविष्य अन्धकार देखेर रोजगारीको सिलसिलामा दिन प्रतिदिन विदेशिन बाध्य युवाहरुलाई देशमै रोक्न सक्नुपर्ने बताईन् । विदेशिने युवाहरुलाई रोक्न सकेमा देशको मुहार फेरिने उनको भनाइ छ । ‘हामीहरूले देशमै कृषि तथा रोजगारीका अवसरहरु सिर्जना गर्न आवश्यक छ । कृषि तथा रोजगारीको माध्यमबाट देशको उत्पादकत्व बढ्न गई देशले विशिष्टकरण हासिल गर्नसक्छ,’– उनले भनिन् ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सम्सदीय दलको पूर्व सचेतकसमेत रहेकी क्षेत्रीले अबको सरकारले महिला अधिकारलाई सुनिश्चित गर्नुका साथै शिक्षा, स्वास्थलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्ने आवश्यकता औंल्याईन् । उनले वर्तमान सरकारबाट जनताले ठूलो आशा र भरोसा गरेको बताईन् । सरकारले देशमै आर्थिक उन्नति, रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले गरेका थिए ।