पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः नेपाल


काठमाडौँ, ९ पुस (रासस) : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाले पुनः माधवकुमार नेपालको अध्यक्षतामा ३१ सदस्यीय नेतृत्व चयन गरेको छ ।

आज भएको साधारण सभाले आगामी तीनवर्षका लागि नेपाललाई अध्यक्षमा चयन गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिमालले जानकारी दिनुभयो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मीभक्त उपाध्याय, उपाध्यक्षमा बेदुराम भुसाल, लोककृष्ण भट्टराई र विजयलाल श्रेष्ठ, महासचिवमा गंगालाल तुलाधर, सचिवमा विष्णु रिजाल र कोषाध्यक्षमा मोहनबहादुर केसी रहनु भएको छ ।

यसैगरी, सदस्यहरुमा अलिअख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, भानुभक्त ढकाल, रघुजी पन्त, रत्न महर्जन, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई, सुरेश कार्की र हिरण्यलाल श्रेष्ठ चयन हुनुभएको छ । बाँकी सात सदस्य कार्यसमितिले पछि चयन गर्नेछ ।

साधारणसभाले तत्कालीन सचिव गंगालाल तुलाधरले प्रस्तुत गरेको कार्ययोजना र कोषाध्यक्ष मोहन केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएका प्रतिष्ठानका संरक्षक झलनाथ खनाल (इलाम–१), अध्यक्ष माधवकुमार नेपाल (काठमाडौँ–२) र सदस्य कृष्णगोपाल श्रेष्ठ (काठमाडौँ–९) तथा प्रदेशसभा सदस्य निर्वाचित सदस्य सानुकुमार श्रेष्ठ ( काठमाडौँ–२ (क) लाई बधाई पनि दिइएको थियो ।

Skip This

Omoda E5 Pro