काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको हातमा धेरै अधिकार नरहेको टिप्पणी गरेका छन् ।
प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रस्तोता ऋषि थपलियासँगको अन्तर्वार्तामा शुक्रबार प्रचण्डले यस्तो बताएका हुन् ।
‘बालेन्द्र शाह पनि भन्दिनँ म । बालेन्द्र शाहको हातमा पनि धेरै चिज केही छ जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने ।
त्यसपछि प्रस्तोता थपलियाले ‘१८३ सिटको प्रधानमन्त्री हो उहाँ त’ भन्दै प्रतिप्रश्न गरेका थिए । जवाफमा प्रचण्डले १८२ सिट कसरी प्राप्त भयो भन्ने विषयको हिसाब इतिहासले गर्ने बताए ।
‘१८३ सिट कहाँबाट, कसरी आयो, त्यो पनि हिसाब त भोलि इतिहासले गर्ला नै । अहिले त्यसमा म धेरै भन्न चाहन्नँ,’ उनले भने, ‘मैले भनेँ, बालेन शाह सफल हुनुहोस्, राम्रो गर्नुहोस् भनिराखेकै हो सुरुदेखि ।’
थपलियाले त्यसपछि ‘देश कसको हातमा गइरहेको छ, कमरेड प्रचण्ड ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले देशको शक्ति नवऔपनिवेशिक शक्ति, दलाल पुँजीपति र उच्च तहका अधिकारीहरूको हातमा रहेको आशय व्यक्त गरे ।
‘मैले धेरै गहिरोगरी भनिसकेँ । एकथरी त्यसलाई नवऔपनिवेशिक शक्ति भन्नुहोस् या एकथरी दलाल पुँजीपतिहरू भन्नुस्, ठूला–ठूला अफिसरहरू पावरमा भएका, चाहे त्यो ब्युरोक्रेसीमा होस्, चाहे सेनामा होस्,’ उनले भने ।
उनले प्रहरीबारे भने थप टिप्पणी गर्न नचाहेको संकेत गर्दै भने, ‘विचरा पुलिसलाई धेरै भन्नु छैन, केही छैन अहिले ।’




प्रतिक्रिया