कोरिया–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता


काठमाडौँ, २० पुस (रासस) : नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया–नेपाल सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल–कोरिया सम्बन्ध’ विषयक प्रवचनमा दक्षीण कोरियाली राजदूत पार्कले दुई मुलुकबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता जनस्तरका साथै विकास सहायता र आर्थिक फाँटमा दुवै देशले सहकार्य गर्दै आएका बताउनुभयो ।

जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा प्रशस्त लगानीका सम्भावना रहेको बताउँदै उहाँले चमेलिया जलविद्युत् आयोजनाको विद्युत्गृहको परीक्षण निर्माण गरिरहेको, अर्को कोरियाली कम्पनीले विद्युत् खरिद सम्झौतालाई अन्तिम चरणमा पु¥याएको जानकारी दिँदै नेपालमा लगानीको वातावरण बनेकामा हर्ष प्रकट गर्नुभयो ।

दक्षीण कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा कृषि क्षेत्रको विकासमा नेपाल सरकारका सम्बद्ध निकायसँगको सहकार्यमा काम गरिरहेको जानकारी दिँदै उहाँले प्रविधि हस्तान्तरण तथा ज्ञान र विज्ञान–प्रविधिको क्षेत्रमा भएका नवीन प्रयोगलाई नेपाल ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

नेपाल कोरियाली नागरिकका निम्ति प्रमुख पर्यटकीय गन्तव्य हुनुका साथै शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी अर्को आकर्षक गन्तव्य बनेको चर्चा गर्दै वर्षेनी ३० हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेका आँकडा प्रस्तुत गर्नुभयो ।

हाल दक्षीण कोरियामा ४० हजार नेपाली कार्यरत रहेका र उनीहरुको परिश्रमको कोरियालीले उच्च सम्मान गरेको बताउँदै राजदूत पार्कले तिनलाई औद्योगिक प्रविधि र सीप सिकाउन सके नेपाल र नेपाली लाभान्वित हुनेथिए भन्नेमा आफू आश्वस्त रहेको उल्लेख गर्नुभयो ।

परिषद्का सभापति हेमन्त खरेलको अध्यक्षतामा भएको उक्त प्रवचनमा महासचिव अशिम थापाले नेपाल–कोरिया सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।

Skip This

Omoda E5 Pro