मन्त्रिपरिषदले के-के गर्‍यो निर्णय ?


काठमाडौं, २८  पुस । सरकारले तात्कालीन पञ्चायत व्यवस्थाको समयमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठक उक्त निर्णय गरेको हो । २०३६ साल कात्तिक २७ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बहानामा प्रहरीले गोली चलाउँदा १६ जना मारिएका थिए ।

यसैगरी सरकारले लाइफ स्टक कार्यक्रमका लागि विश्व बैंकबाट आठ अर्ब सहयोग स्वीकार्ने निर्णय पनि गरेको छ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने निर्णय भने आज पनि भएन । प्रदेश प्रमुख र अस्थायी मुकाम बारे छलफल भएपनि नतोकिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै, नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथीमा बढुवा गरिएको छ । उनलाई यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृति पनि दिइएको छ ।

यसैगरी प्राविधिक महासेनानी गेहेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा पदोन्नती र पदस्थापन गर्ने निर्णय पनि गरिएको छ । महेन्द्रनाथ उपाध्यायलाई नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दै पदस्थापन गरिएको छ भने पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्त गरिएको छ ।