पुनःस्थापनाको माग गर्दै सामाजिक परिचालकद्वारा प्रदर्शन


काठमाडौँ,२ माघ। पुनःस्थापनाको माग गर्दै आज सामाजिक परिचालकले राजधानीमा प्रदर्शन गरेका छन् ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सेवाबाट हटाइको विरोधमा नेपाल सामाजिक परिचालक कर्मचारी संघको आयोजनामा उनीहरुले पुनःस्थापनाको माग गर्दै आज प्रदर्शन गरेका हुन् ।

‘सामाजिक परिचालकको हकहित संरक्षण गर’ ‘युवा रोजगारको आश देखायौँ, भएको रोजगार हटायौँ’ ‘सामाजिक परिचालक राष्ट्रका चालक’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर भृकुटीमण्डपबाट शुरु भएको ¥याली भद्रकाली हँुदै माइतीघरमा गएर कोणसभामा परिणत भयो ।

सो अवसरमा संघका अध्यक्ष सारिका राईले विनाकारण आफूहरुलाई राज्यमन्त्रीस्तरीय निर्णयले हटाएकाले जागिरमा पुनःस्थापनाका लागि आन्दोलन गरिरहेको बताउँदै सरकारले आफूहरुलाई पुनःस्थापना नगरेसम्म आन्दोलन जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलको गत पुस १४ गते मन्त्रिस्तरीय निर्णयबाट स्थानीय तहमा सामाजिक परिचालकका रुपमा कार्यरतलाई हटाउने निर्णय गरेको थियो । यो निर्णयको विरुद्धमा संघले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत विसं २०६६ देखि स्थानीय तहमा मन्त्रालयले सामाजिक परिचालक राखेको थियो । देशभरि करिब चार हजार ७०० सामाजिक परिचालक कार्यरत छन् । उनीहरुले मासिक रु १२ हजार तलब पाउने गर्दथे ।