माघ १८, काठमाण्डौ । प्रदेशसभाको बैठकमा सहभागी हुन हेटौंडा आइपुगेका सांसदहरुलाई स्थानीय होटल व्यवसायीले रूममा लाग्ने शुल्कमा ४० प्रतिशत छुट दिने घोषणा गरेका छन् । त्यसैगरी खानामा १५ प्रतिशत छुट दिने भएका छन् ।
होटल एशोसिएसन मकवानपुरले प्रदेश सांसदहरुलाई खाना र बसाईमा छुट दिने घोषणा गरेको हो ।
प्रदेश ३ को अस्थायी मुकाम हेटौंडा तोकिएकोमा यहाँका उद्योगी व्यवसायीहरु खुशी देखिएका छन् । प्रदेश ३ का १३ वटा जिल्लाबाट हेटौडामा ११० जना सांसदहरु भेला भएका छन् । उनीहरुका सहयोगी, प्रदेश संसदका कर्मचारी एवं सञ्चारकर्मीहरुको हेटौंडामा बाक्लो उपस्थिति देखिएको छ ।
बाहिरी जिल्लाबाट पुगेका सांसद र कर्मचारीहरुले डेराको व्यवस्था गर्न नभ्याएका कारण प्रायः सबै होटलमा नै बस्दै आएका छन् ।
प्रदेश सांसदको तलब र भत्ता तोक्न बाँकी नै रहेका कारण सांसदहरु निजी खर्चमै बैठकमा सहभागी हुनुपर्ने अवस्था छ ।
चुनावका बेला ऋणमा डुबेका सांसदहरु फेरि बैठकमा भाग लिन जाँदा लजको बासले थप आर्थिक भारमा परेका छन् ।
प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक बस्नुअघि सभामुखको भूमिकामा रहेका ज्येष्ठ सांसद डोरमणि पौडेलले विहीबार बिहान हेटौडामा सर्वदलीय बैठक बोलाएका छन् ।
प्रदेश ३ को संसदमा प्रतिनिधित्व गर्ने एमाले, कांग्रेस, माओवादी, नेमकिपा, राप्रपा, नयाँशक्ति, विवेकशील साझा, राप्रपा र राप्रपा प्रजातान्त्रिकका नेताहरुलाई संसद बैठकको गृहकार्यका क्रममा सर्वदलीय बैठकमा बोलाइएको हो ।
साथै प्रदेश संसदमा प्रतिनिधित्व गर्ने दलहरुले आआफ्ना आन्तरिक बैठकहरु पनि गरिरहेका छन् ।
त्यसैगरी एमाले र कांग्रेस लगायतका दलहरु पनि आन्तरिक छलफलमा जुटिरहेका छन् । बैठकमा सबै दलका प्रतिनिधिले प्रदेशसभालाई सम्वोधन गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे बस्ने भनिएको बैठकका लागि कुर्सी र कार्पेटको व्यवस्था गर्न विहानभरी कर्मचारीहरुलाई भ्याइनभ्याइ थियो ।
सभामुखको आसन अगाडि दायाँतिर सबैभन्दा ठूलो दल एमालेका ५८ सांसदहरुका लागि कुर्सीको प्रवन्ध गरिएको छ । अन्य दलहरुलाई पनि बेग्लाबेग्लै कुर्सीको प्रबन्ध गरिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले तीन नम्बर प्रदेशको संसद सञ्चालनका लागि २७ जना कर्मचारी पठाउने निर्णय गरेको छ । तर, प्रदेशसभाको बैठक हुने दिन बिहानसम्म ती कर्मचारीमध्ये एकजना मात्रै हेटौंडा पुगेको जानकारी आएको छ ।
संसद सचिवालयबाट प्रदेशमा खटाइएका ६ जना मर्यादापालकसहित सचिवालयका ३ जना सिनियर कर्मचारीहरु मात्रै हटौंडामा छन् । संसद सचिवालयबाट एक महिनाका लागि सहसचिव डा. रोजनाथ पाण्डे, उपसचिव अधिराज राई र शाखा अधिकृत विनोद पौडेललाई खटाइएको छ र उनी हेटौंडा पुगिसकेका छन् ।
तर, तालिम दिनेहरु कार्यस्थलमा पुगे पनि विहीबार बिहानसम्म सामान्य प्रशासन मन्त्रालयले खटाएका २६ कर्मचारीहरु तालिम लिनका लागि त्यहाँ हाजिर भएका थिएनन् ।
बैठकको तयारी सहसचिव डा. रोजनाथ, उपसचिव अधिराज र शाखा अधिकृत विनोदले गरिरहेका छन् ।
आजको बैठकले एउटा कार्यविधि पास गर्ने बताइएको छ । कार्यविधिलाई सर्वदलीय बैठकमा राखेर छलफल गरी निष्कर्षमा पुगेको ज्येष्ठ सदस्य तथा सभामुख डोरमणि पौडेलले बताएका छन् ।
सभामुखको निर्वाचन नहुदासम्म पौडेलले भूमिका निर्वाह गर्नेछन् । सभामुखको निर्वाचन माघ २९ गते गर्ने तयारी छ । त्यसको केही दिनमा उपसभामुखको चुनाव हुन्छ ।
प्रतिक्रिया