बाँके मालपोतको सिंगो सेट अख्तियारको फन्दामा


बाँके मालपोत कार्यालयको सिंगो सेटमाथि जग्गा कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्या दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बिहिबार विशेष अदालतमा अभियोग दर्ता गरिएकाहरुमध्ये सबैजसोसँग दुई करोड रुपैयाँ भन्दा बढी बिगोसहित सजाय मागदाबी गरिएको छ ।

अख्तियारले मुद्या दायर गरेकामा मालपोत कार्यालय बाँकेका तत्कालिन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेलसहित २३ जना कर्मचारी छन् । दुईजना लेखापढी व्यवसायी र दुईजना सर्वसाधारण छन् । मुख्य अभियुक्त खैरुल हसन अन्सारीसँग मात्र चार करोड ४७ लाख ४५ हजार बिगो रकम दाबी गरिएको छ । बाँकी सबैसँग दुई करोड देखि अढाई करोडसम्मको बिगो दाबी गरिएको छ ।

अभियोग दर्ता गरिएकामा मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा, अशोककुमार भट्टराई,रामकुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रवीन्द्रबहादुर थापा, रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का र मान बहादुर केसी छन् ।

यसैगरी, कम्युटर अपरेटर लक्ष्मी मल्ल, यज्ञश्वर वली, प्रेमबहादुर चन्द ठकुरी, खरिदार भुमिराज पोखरेल, किशोर कुमार रिजाल, तुलसी रानी थारु, सुशिल रिजाल, संजयकुमार ठाकुर, कुलानन्द राउत, कार्यालय सहयोगी सुर्यप्रसाद उपाध्याय, अन्तराम चौधरी, कृष्णप्रसाद ज्ञवाली छन् ।
कौशल भन्ने खैरुल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, लेखापढी व्यवसायी वृहस्पती खड्का र पप्पु धोवी छन् ।

अभियुक्तहरुले बाँके खासकारकाँदो वडा नम्बर ७ को विभिन्न क्षेत्रफलको जग्गा सरकारी कागजात कीर्ते गर्ने सरकारी कर्मचारीहरुमाथि आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । सरकारी मोठ श्रेस्ता नै फेरबदल गरी सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने गराउने कार्य गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले बताए ।
……………

मोटरसाइकल चोर्दै गर्दा रङ्गेहात पक्राऊ

काभ्रेस्थलीमा दुईजना मोटरसाइकल चोर्दै थिए । चोरहरुबारे प्रहरीले खबर पायो । तत्काल पुग्दा उनीहरु चोरीकै प्रयासमा थिए । दुवैलाई बालाजु प्रहरीले नियन्त्रणमा लियो ।

बिहिबार विहानै तार्केश्वर नगरपालिका २ स्थित प्रिन्स तामाङको घर अगाडि पार्किङ गरी राखेको बा ६३ प ३३७ नम्बरको मोटरसाइकल चोर्दै गर्दा रोहन मगर र राहुल तामाङ पक्राऊ परेका हुन् । पक्राऊपछि दुवैलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

एक लाख घूस लिने इञ्जिनियर पक्राऊ

सेवाग्राहीसँग एक लाख घूस लिएको अवस्थामा सप्तरीमा इञ्जिनियर पक्राऊ परेका छन् । रुपनी गाउँपालिकाका इन्जिनियर विकाश कुमार श्रेष्ठले झुलुंगेपुल निर्माण सम्बन्धि बील फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्रहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा रङ्गेहात पक्राऊ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार श्रेष्ठमाथि अनुसन्धान भइरहेको छ ।

Skip This

Omoda E5 Pro