प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘साहसिक’ भन्दै भारतले दियो बधाई र चेतावनी


काठमाडौं, जेठ १७ । भारतीय चर्चित नेपाल–विश्लेषक तथा पूर्व कूटनीतिज्ञ एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा समस्याबारे दिएको अभिव्यक्तिलाई ‘साहसिक’ भन्दै सार्वजनिक रूपमा समर्थन गरेका छन्।
मुनीले सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै नेपाल र भारतबीचको सीमा समस्या एकतर्फी नभएको यथार्थलाई स्वीकार गरेको भन्दै प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन्।

उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘नेपाल सुस्तामा भारतको क्षेत्रमा बसेको छ, जुन नदीको बहाव परिवर्तनको परिणाम हो।’
एसडी मुनीका अनुसार सीमा विवादलाई भावनात्मक रूपमा मात्रै नभई भौगोलिक तथा प्राविधिक यथार्थका आधारमा हेर्न आवश्यक छ। उनले प्रधानमन्त्री शाहले उठाएको विषयलाई त्यही यथार्थसँग जोडिएको अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्।

संसदमा बालेनले बेलायतलाई समेत जोडेर लिपुलेकको बारेमा छलफल गर्नुपर्ने धारणा राखेपछि भने भारतीय विज्ञहरु तर्सित भएका छन्। यसै सन्दर्भमा मुनीले सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भने दुवै देशका लागि प्रत्यूत्पादक हुन सक्ने चेतावनी पनि दिएका छन्। उनले नेपाल–भारतबीचका सीमा समस्या द्विपक्षीय संवाद र प्राविधिक तहबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले संसदमा ‘कतिपय स्थानमा भारतको जग्गा नेपालतिर र नेपालको जग्गा भारततिर हुन सक्ने’ अभिव्यक्ति दिएपछि नेपालमा राजनीतिक तथा सार्वजनिक बहस तीव्र बनेको छ। त्यसैबीच भारतीय विश्लेषक मुनीको समर्थनले यो विषयलाई थप चर्चामा ल्याएको छ।