Logo

ज्ञानेन्द्र फेरि राजा बन्न सक्लान् ?



समाचार विश्लेषण । पूर्व राजा ज्ञानेन्द्र शाहको निधारमा कलंकको यस्तो कालो धब्बा छ जसलाई मेटाउन सक्ने सम्भावना सायदै छ । उनको मनमा एउटा भयानक पीडा छ जसलाई शान्त पार्न सक्ने सम्भावना उत्तिकै कम छ ।

ज्ञानेन्द्र शाहले पूर्खाले नेतृत्व गरी एकीकरण गरेको देशमा चल्दै आएको राजसंस्थालाई जोगाउन सकेनन् । उनी नेपालका अन्तिम राजाका रुपमा सामान्य ज्ञानमा पढिए । आफू जिवित हुँदा अन्तिम राजाका रुपमा देशभित्र रहनुपर्दा उनमा रहेको पीडा बेला बेलामा प्रकट भइरहन्छ ।

वीरेन्द्रको वंशनाशपछि राजा भएका उनी कहिले लोकप्रीय भएनन् । उनको यही कमजोरी राजसंस्था अन्तका लागि सहज मार्ग बनिदियो । त्यसमाथि उनका एकमात्र पुत्र पारस शाह सधै विवादमा तानिए । वीरेन्द्र शाहको लोकप्रीयताका सामु ज्ञानेन्द्र शाह विवादमा परिरहे । उनले आफ्नो हातमा कार्यकारी अधिकार लिएपछि झन् अप्ठ्यारोमा परे । घटनाक्रम यसरी विकास भयो कि राजसंस्थाको अन्त गर्न प्रमुख दलका शिर्ष नेताहरुलाई सहज बाटो बन्यो ।

राजसंस्थाको अन्त भएको एक दशक बितिसकेको छ । नयाँ पुस्ताका लागि राजसंस्था इतिहास बनिसकेको छ । तैपनि, पूर्व राजा फर्कने दाउमा छन् । उनको देश दौडाहाले त्यस्तै संकेत गर्दछ । अघिल्ला वर्षहरुमा तराईका जिल्लाका मठमन्दिर पुगेर पूर्व राजाले परिस्थिति बुझेका थिए । अब उनी विदेश दौडहामा बढेका छन् ।

विगत वर्षहरुमा भारतका मठमन्दिर पुग्ने उनी भारतबाहेकको देशमा आवतजावत गर्न थालेका छन् । शाहको बाक्लो आवतजावतको गन्तव्य थाइल्यान्ड बनेको छ । असार महिनाको अधिकांश समय बैंकक बसेको भनियो । तर, उनी बैंककभन्दा बाहिर समेत पुगेको बुझिएको छ । उनी कहाँ पुग्छन् ? किन पुग्छन् ? आशंकाहरु जन्मिएका छन् ।

साउनको तेस्रो हप्ता पुनः बैंकक लागेका छन् । यसपटक उनको बैंकक यात्रापूर्वक सत्तारुढ दलका नेताहरुबाट चेतावनी आएको छ । नेकपा अध्यक्ष प्रचण्डले चेतावनी दिदै नागार्जुनबाट समेत हटाइदिने बताए । ज्यादा चलखेल नगर्न चेतावनी दिए । प्रधामन्त्री केपी शर्मा ओलीले त्यस्तै चेतावनी दिइसके । पूर्व राजाको विदेश दौडाहाका रहस्यहरु खोतल्न सरकारमा रहेकाहरु सक्रिय भएका छन् । केही गम्भीर सूचना पाएर प्रचण्डले चेतावनी दिएका छन् ।


गत वर्षमा पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेश पुगेर त्यहाँका मुख्यमन्त्री योग आदित्यनाथलाई भेटे । यसले राजनीतिक वृत्तमा तरंग ल्यायो । पदमा नपुग्दै योगी नेपालमा हिन्दु अधिराज्य र राजसंस्था कायम हुनुपर्ने पक्षका थिए । मुख्यमन्त्री भएपछि उनले त्यस्ता अभिव्यक्ति दिएका छैनन् । तर, योगीको लाइन परिवर्तन भएको छैन । पूर्व राजाले देशभित्र समर्थन जुटाउन सक्ने तर बाह्य सहयोगको अपरिहार्यता देखेर सक्रियता देखाएको देखिन्छ । तर, राजसंस्था ब्युँताउने माहोल बनाएर कलंकको धब्बा मेट्न ज्ञानेन्द्र शाहका लाग सहज छैन । राजनीतिमा असम्भव भन्ने हुँदैन । सम्भावनाको खेलभित्र नहुने के पो छ र ? File Photo



प्रतिक्रिया दिनुहोस्