ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको निर्णयमा संगठनहरूको ध्यानाकर्षण


काठमाडौं । निजामती क्षेत्रमा क्रियाशील १५ वटा पेशागत संगठनहरूले ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको निर्णयमा ध्यानाकर्षण जनाएका छन् ।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले सरकारको उक्त कदम अलोकतान्त्रिक र अन्तर्राष्ट्रिय श्रम कानुनविपरीत रहेको भन्दै निर्णय फिर्ता लिन माग गरेका हुन् ।

विज्ञप्तिमा नेपालमा ‘मकैको खेती’, ‘एकादशी सभा’, विराटनगर जुटमिलको मजदुर आन्दोलन हुँदै २०३६ सालदेखि नै ट्रेड युनियन आन्दोलनले आकार ग्रहण गरेको र नागरिक स्वतन्त्रता तथा पेशागत हकहितका लागि महत्वपूर्ण भूमिका खेलेको स्मरण गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सुशासन प्रवर्द्धन गर्ने नाममा ट्रेड युनियन जस्तो लोकतान्त्रिक खम्बालाई भत्काउन खोज्नु शोभनीय छैन । कर्मचारीहरूको सेवा, शर्त, सुविधा र अधिकारसम्बन्धी ऐन कानुन जारी गर्दा ट्रेड युनियनहरूसँगको संवाद र सहमतिबाट मात्र लागू गर्न हामी हार्दिक अपिल गर्दछौँ ।’