भारतीय मजदुरको मृत्यु


जलेश्वर,२७ भदौ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर बजारमा बिहीबार साँझ प्लाइले किचिएर एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाअन्तर्गत भिट्ठा गाउँपञ्चायत बस्ने ४५ वर्षीय महेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

जलेश्वर नपा–२ मा अवस्थित सचिन ट्रेडर्समा काम गर्दै आएका भारतीय मजदुर साह सोही टे«डर्सको प्लाइको गोदामबाट प्लाइ झिकिरहेको बेला छातिमाथि एक्कासी सात प्लाइ झरेर उनको छाति किचिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । छातिमाथि नै ४० – ४० किलोको सात प्लाइ एक्कासी झर्दा किचिएर गम्भीर घाइते भएका मजदुर साहलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

मृतक भारतीय मजदुर साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ भने प्रहरीले सचिन ट्रेडर्सका सञ्चालक लक्ष्मण साहलाई नियन्त्रणमा लिएको छ । -रासस

Skip This

Omoda E5 Pro