इनम सापकोटाको आरोप : दुई दिन अज्ञातस्थलमा राखेर विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब दिइयो


काठमाडौं । विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन परेको छ। शुक्रबार सापकोटाकी पत्नी कविता पाण्डेले आयोगमा निवेदन दिएकी हुन्।

आयोगमा दिएको निवेदनमा सापकोटाले आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखेर धाकधम्की तथा मानसिक यातना दिइएको आरोप लगाएका छन्। साथै, आफ्नो गोपनीयताको हकसमेत हनन भएको दाबी गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

सापकोटालाई गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। विमानस्थलमा अन्तिम सुरक्षा जाँचका लागि पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएर आफूसँग रहेका दुईवटा मोबाइल फोन खोसेको र आँखामा पट्टी बाँधेर गाडीमा राखी अज्ञातस्थलमा लगेको उनले निवेदनमा उल्लेख गरेका छन्।

उनका अनुसार त्यसपछि दुई दिनसम्म अज्ञातस्थलमा राखेर सोधपुछ गरिएको थियो। सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधरलगायत व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको उनको आरोप छ।

सापकोटाले आफूले ती व्यक्तिहरूविरुद्ध बयान दिन अस्वीकार गरेपछि लामो समय जेलमा राख्ने, आफू र परिवारको ज्यान जोखिममा पार्ने तथा परिवारलाई समेत समस्यामा पार्ने धम्की दिइएको दाबी गरेका छन्।

उनका अनुसार पटकपटक परिवारसँग सम्पर्क गराइदिन आग्रह गर्दा पनि अनुमति दिइएन। बयान दिन नमानेपछि आफूलाई तर्साउने, धम्क्याउने र मानसिक यातना दिने काम भएको उनले निवेदनमा उल्लेख गरेका छन्।

सापकोटाले आफूलाई एउटा कागजमा लेखिएको विवरण पढ्न लगाइएको र त्यसैलाई रेकर्ड गरेर सार्वजनिक गरिएको दाबीसमेत गरेका छन्। आफूलाई जानकारी नभएको विषयमा तयार पारिएको कागजमा हस्ताक्षर गर्न लगाइएको उनको भनाइ छ।

उनका अनुसार पछि प्रहरीले उक्त अडिओ आफ्नो आवाज हो वा होइन भनेर सोधपुछ गरेको थियो। त्यस क्रममा आवाज आफ्नै जस्तो सुनिए पनि त्यसमा भनिएका कुरा आफूलाई याद नभएको व्यहोरा उल्लेख गरेर बयान लिइएको उनले बताएका छन्।

हाल सोही अडिओका आधारमा बयान दिन मानसिक दबाब तथा यातना दिइँदै आएको सापकोटाको आरोप छ। आफू र आफ्नो परिवारको जिउज्यान तथा स्वतन्त्रतामाथि खतरा उत्पन्न हुने गरी धम्की दिइएकाले लामो समयदेखि मानसिक तनावमा रहेको उनले निवेदनमा उल्लेख गरेका छन्।