आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

आइतबार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

आइतबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।