Logo

वामदेव बिच्किएसँगै ओलीविरोधीको पल्लाभारी



काठमाडौं, २४ पौष । नेपाल कम्युनिष्ट पार्टीभित्र ‘सुरथको एक्का’ बनेका वामदेव गौतम अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिच्किएका छन् । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने प्रावधान राख्न संविधान संशोधन गर्न ओली सहमत नहुनु र आफूलाई उपाध्यक्ष बनाउने प्रक्रियामा अलमल गरेपछि गौतम बिच्किएका हुन् ।

उपाध्यक्ष बनाउने आश्वासन दिएर प्रक्रिया अगाडि बढाएपनि केन्द्रीय समितिबाट पारित गराउनुपर्नेमा बैठक सारिएको छ । केन्द्रीय समितिबाट पारित नगराई गौतम उपाध्यक्ष हुन पाउनेछैनन् । आफूलाई पटक पटक ओलीले धोका दिएको भन्दै गौतम असन्तुष्ट बनेका छन् । जसका कारण उनले नयाँ ढंगले सक्रियता बढाएका छन् ।

बुधबार साँझ ओलील भैंसेपाटीस्थित निवासमा ओलीसँग असन्तुष्टहरुको बैठक राखे । जसमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालका अलावा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल थिए । रावल ओलीका कटु आलोचक हुन् । बैठकमा सभामुख चयन र एमसीसीका बारे गम्भीर छलफल भएको बुझिएको छ ।

बैठकमा सहभागीमध्ये प्रचण्ड, नेपाल, गौतम, श्रेष्ठ र रावल एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीति अन्र्तगत भएको भन्दै विपक्षमा छन् । सभामुख चयनमा पनि यी नेताहरु सुवासचन्द्र नेम्वाङको विपक्षमा छन् । प्रचण्डले कुनै हालतमा नेम्वाङलाई सभामुख बन्न नदिने अडान कसिसकेका छन् । नेकपाभित्र दुई अध्यक्षबीचको विवादकाबीच गौतम सक्रिय भएका छन् ।

नेकपाभित्र गौतम पकडका दृष्टिकोणले तेस्रो शक्तिशाली नेता मानिन्छन् । संसदीय दलमा पनि उनी पक्षधरको संख्या ओली र प्रचण्डपछि बढी छ । यस्तो अवस्थामा ओली र प्रचण्डबीच द्धन्द्ध बढ्दा गौतम निर्णायक बन्न सक्ने क्षमता राख्छन् । गौतमले विगतमा पनि नेकपा एकीकरणमा भूमिका खेलेका थिए । यसपटक उनले ओलीमाथि नेम्वाङबाहेकको नाममा दबाब सृजना गर्न सक्रियता बढाएको बुझिएको छ । सभामुख र एमसीसीको विषयले नेकपाभित्र संकट बढेको निष्कर्ष गौतमले निकालेको उनी निकटस्थले रिपोर्टर्स नेपाललाई बताए । त्यसैले गौतमले कुरा मिलाउन बुधबार साँझ डिनरसहितको बैठक डाकेका थिए । तर, ओली कुनै हालतमा नेम्वाङबाहेकको नाममा सहमत नबन्ने भएबाट नेकपाभित्र विवाद अझ चुलिने अवस्था बनेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्