Logo

सरकारलाई राजेन्द्र महतोको प्रश्न : कागजमा कोर्दैमा हाम्रो जमिन फिर्ता हुन्छ र ? (भिडिओसहित)



काठमाडौं, १९ जेठ । राजपा नेपालका नेता तथा सांसद राजेन्द्र महतोले आफूहरुले प्याकेजमै संविधान संशोधन गर्नुपर्छ र मुलुकलाई राष्ट्रिय सहमतिकै आधारमा अघि लैजानुपर्छ भनेर प्रयास भैरहेको स्पष्ट पारेका छन् । आईतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महतोले भने,’विषयमा प्रवेश गरौं, नेपालको भूमि, गुमाईएको भुमि, आफैं गुमाईएको भूमि, कसैले गुमाईदिएको होईन, आफैं चाहीँ गुमाईदिएको, नेपालको नक्साबाट हामी आफैंले हाम्रा महान राष्ट्रबादी शासकले नेपालको नक्साबाट आफैं कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्साबाट आफैं हटाउने काम यो बहादुरी काम हाम्रो शासकहरुले विगतमा गर्यो । ५०-६० वर्षसम्म आफ्नो नक्साबाट आफैं उडाउने काम गर्यो, त्यस्तो बहादुरी काम गर्यो । अर्का राष्ट्रबादीहरु, त्यो महाकाली सन्धि गर्दाखेरि त्यो महाकालीको मुहान कहाँ ? अब त्यसको अत्तोपत्तो छैन् । अनि महाकाली सिमा नदी भयो अरे । यस्ता सम्झौता गर्नेपनि हाम्रा राष्ट्रवादीहरु ? गर्ने को को हो ? त्यो चाहीँ मैले भनिरहनुपर्दैन् । यो सन्धि कसले गरायो ? संसदबाट कसरी पास भयो ? कसरी गरायो ? यो त सारा दुनियाँलाई नै थाहा छ नि त । शेरबहादुरजी प्राईममिनिष्टर हुनुुहुन्थ्यो, अहिलेको प्रधानमन्त्री महामहिम केपी ओलीजी चाहीँ महाकाली सन्धिको अध्ययन समितिको संयोजक हुनुहुन्थ्यो । भिडेर चाहीँ पास गराउनुभयो ।’

उनले विगतका सरकारले नेपालको भूमि गुमाएको र राष्ट्रघाती काम गरेको गम्भिर आरोप लगाए । उनले भने-‘हाम्रा सरकार भनाउँदाहरुले आफ्नो भूमि गुमाएको, राष्टघाती काम गरेको अब यो त छ, विगतमा भएको हो । अब त्यो भूमिलाई फिर्ता ल्याउनुपर्छ भन्ने कुरा अहिले आएको छ । कागजमा कोरेर त्यो जमिन फिर्ता आउने भए त आईहाल्छ, कागजमा कोर्दैमा हाम्रो जमिन फिर्ता हुन्छ र ? हुँदैन होला नि त ।’



प्रतिक्रिया दिनुहोस्