Logo

रुकुम पश्चिमको चौरजहारी घटनाको विरोधमा वीरेन्द्र्रनगरमा ¥याली



सुर्खेत, १९ जेठ  : रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा वीरेन्द्र्रनगरमा ¥याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको ¥यालीबाट वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको परिक्रमा गरिएको हो । ¥यालीपछि आयोजित कोणसभाका वक्ताले जातीय विभेदकै कारण उक्त घटना भएको बताउनुभयो ।

निष्पक्षरुपमा घटनाको अनुसन्धान हुनेमा आशङ्का रहेको बताउँदै उनीहरुले छानबिनका लागि संसदीय समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गर्नुभयो । ‘छोरी बचाउ अभियान’ का संयोजक सजना सुनारले जातकै कारण अन्तरजातीय पे्रमका नाममा दलित मारिनुपर्ने अवस्थाको अन्त्य कहिले हुने हो भनी प्रश्न गर्नुभयो ।

राष्ट्रिय दलित पत्रकार सङ्घका कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारले जातकै आधारमा प्रेममा बन्देज लगाउन सामूहिक हत्या गरिएको आरोप लगाउनुभयो । “रुकुम पश्चिमको घटना इतिहासकै कालो दिन र दलित समुदायमाथिको जघन्य अपराधका रुपमा चित्रित भइरहनेछ”, उहाँले भन्नुभयो, “यो परिस्थिति निम्त्याउने सबैलाई कानूनी कठघरामा उभ्याउन सिङ्गो दलित समुदाय पुनःएकपटक जुर्मुराउन आवश्यक छ ।” ¥यालीमा विभिन्न पेशा व्यवसायमा आबद्ध दलित अगुवाको सहभागिता थियो ।

यही जेठ १० गते चौरजहारीको सोती गाउँमा भएको घटनामा पाँच जनाको मृत्यु हुनाका साथै एक जना बेपत्ता छन् । जाजरकोट, भेरी नगरपालिका रानागाउँका २१ वर्षीय नवराज विक रुकुम पश्चिममा पर्ने सोती गाउँकी मल्ल थरकी आफ्नो पे्रमिकाका घरमा सोही दिन अपराह्न साथीसहित पुगेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । रासस File photo



प्रतिक्रिया दिनुहोस्