Logo

छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता नहुँदा राजपा नेताहरु सभामुख सापकोटासँग रुष्ट



काठमाडौं, १९ जेठ । राजपा नेपालले छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोजेको थियो । राजपाका सांसदसमेत रहेको शीर्ष नेता महन्थ ठाकुर गत शुक्रबार नै छुट्टै प्रस्ताव दर्ता गराउन संघीय संसद सचिवालय पुगेका थिए । तर, संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले सभामुखसँग परामर्श गरेपछिमात्रै दर्ता गर्ने कि नगर्ने भनेर शुक्रबार राजपाका नेताहरुलाई फर्काएका थिए ।

राजपाका नेताहरुले हिजोपनि प्रस्ताव दर्ता गराउन प्रयास गरेका थिए । तर, सभामुख अग्निप्रसाद सापकोटाले सरकारले हिजो दर्ता गराएको संविधान संशोधन विधेयकबाहेक अहिले अर्को संशोध प्रस्ताव दर्ता नगर्नेगरि सोहीअनुसार सचिवालयलाई निर्देशन दिएका छन् । सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभामा हिजोमात्रै पेस गरेकी छिन् ।

हिजोको संसद बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेस गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेका थिएनन् । संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा उल्लेख भएको नक्सा नेपालको परिमार्जित वास्तविक नक्साअनुरुप बनाउनुपर्ने भएकाले संविधान संशोधन विधेयक ल्याएको मन्त्री तुम्बाहाङ्फेले संसदमा स्पष्ट पारेकी छिन् ।

यता, राजपाले भने यही बेलामा प्याकेजमै संविधान संशोधन गर्नुपर्ने भन्दै आफूहरुको पनि माग सम्बोधन गर्न सरकारलाई दबाब दिईरहेको छ । सर्वदलीय बैठकमा समेत राजपाका नेताहरुले यस्तो आग्रह गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालगायत अन्य पार्टीका माग र मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्न आफूहरु तयार भएपनि अहिले नेपालको अद्यावधिक नक्साअनुसार संविधानको अनुसुचि ३ मा रहेको नेपालको निशान छापमा उल्लेख गर्नुपर्ने भएकाले सो मात्रै संशोधन गर्ने र यसमा सबैको साथ र समर्थन मागेका थिए । राजपाका नेताहरुले भने सभामुख सापकोटाकै निर्देशनमा आफूहरुको विद्येयक सचिवालयमा दर्ता नभएको आरोप लगाएका छन्। File Photo



प्रतिक्रिया दिनुहोस्