काठमाडौं, असार १५ । कोभिड १९ का कारण सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेपछि यसले सबैजसो क्षेत्रमा धेरथोर असर गरेको छ। लकडाउन घोषणासँगै अत्यावश्यक सेवाबाहेकका उद्योगधन्दा, निर्माण क्षेत्र तथा अन्य व्यवसायमा असर पारेको छ। लकडाउनबाट धेरै प्रभावित क्षेत्रमध्ये एक हो– १० खर्ब लगानी भएको यात्रुबाहक सार्वजनिक यातायात।
लकडाउन घोषणा भएको दिनदेखि नै यात्रुबाहक सार्वजनिक यातायात घर तथा ग्यारेन्जमा थन्किएका छन्। एक सुको आम्दानी भएको छैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस क्षेत्रमा १० खर्बभन्दा धेरै लगानी भएको जनाएको छ। १० खर्ब लगानी भएको सार्वजनिक यातायात तीन महिनाभन्दा धेरै अवधिदेखि ठप्प जस्तै छ। मुलुकको रक्तसञ्चारको काम गर्ने सार्वजनिक यातायात ठप्प हुँदा अर्थतन्त्रमा गम्भीर प्रकृतिको समस्या देखिन थालेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला लकडाउनका कारण निजी क्षेत्रले सार्वजनिक यातायातमा लगानी गरेको १० खर्ब रुपैयाँ जोखिममा परेको बताउँछन्। ‘एकातर्फ सार्वजनिक यातायात ठप्प हुँदा १० खर्बभन्दा धेरै लगानी जोखिममा परेको छ, अर्कोतर्फ सार्वजनिक यातायातसँग जोडिएका ११ लाखभन्दा धेरै मजदुरको बिचल्ली भएको छ,’ उनले भने, ‘अधिकांश सार्वजनिक यातायातका साधनहरु बैंक तथा वित्तीय संस्थाबाट किस्तामा ऋण लिएर सञ्चालनमा आएका हुन्। अहिले किस्ता मागेर व्यवसायी निकै तनावपूर्ण वातावरण झेलिरहेका छन्।’
महासचिव यातायात व्यवसायीले १० खर्ब लगानीमध्ये ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएको दाबी गर्छन्। हाल मुलुकभर चार लाखभन्दा धेरै सार्वजनिक यातायातका साधन चल्छन्।
तीमध्ये मालबाहक सवारी साधन र ट्रिपरबाहेक करिब तीन लाख यात्रुबाहक रहेको आजको नागरिक दैनिकमा खवर छ ।
प्रतिक्रिया