प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, एजेन्डा तय गर्न भारतीय विदेश सचिव सक्रिय


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको प्रस्तावित भारत भ्रमणलाई केन्द्रमा राखेर नेपाल र भारतबीच कूटनीतिक छलफल तीव्र बनेको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले बुधबार नेपाल सरकारका विभिन्न मन्त्री तथा उच्च अधिकारीहरूसँग भेटवार्ता गर्दै भ्रमणका सम्भावित एजेन्डाबारे छलफल गरेका छन्।

परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले बुधबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गरेका थिए। भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, भ्रमणका क्रममा उठाउन सकिने विषय र दुई देशबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा हवाई, रेल, सडक तथा पुलमार्फत दुई देशबीचको कनेक्टिभिटी विस्तारलाई प्राथमिकतामा राखिएको छ। त्यस्तै, व्यापार सहजीकरण, विकास साझेदारी, ऊर्जा सहकार्यको विस्तार तथा जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ।

मिस्रीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेट गरेका थिए।

अर्थमन्त्री वाग्लेसँगको भेटमा नेपाल–भारत आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। ऊर्जामन्त्री श्रेष्ठसँगको छलफलमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने र नेपालमा सञ्चालित परियोजनाको अवस्थाबारे समीक्षा गरिएको थियो।

त्यस्तै, पूर्वाधार विकासमन्त्री लम्सालसँगको भेटमा सडक, पुललगायत भौतिक पूर्वाधार र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका सम्भावनाबारे छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिरको पहिलो सातादेखि हुने तयारी रहेकाले त्यसैलाई लक्षित गरी मिस्रीको नेपाल भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उठाइने विषयलाई अन्तिम रूप दिन विभिन्न मन्त्रालयसँग परामर्श भइरहेको छ।

भारतीय विदेश सचिव मिस्रीले बिहीबार बिहान प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। उक्त भेटमा पनि भारत भ्रमणको तयारी र द्विपक्षीय प्राथमिकताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यद्यपि, परराष्ट्र सचिवस्तरीय वार्ता र मन्त्रीहरूसँगको परामर्शबाट भ्रमणका सम्भावित विषय पहिचान गरिए पनि प्रधानमन्त्रीको भारत भ्रमणको अन्तिम एजेन्डा भने टुंगिन बाँकी रहेको मन्त्रालयले जनाएकाे छ।