नेकपाका दुई अध्यक्षको आआफ्नै दाउ


काठमाडौं, मंसिर १० । सत्तासीन दल नेकपाका दुई अध्यक्षबीच यही मंसिर ३ यता संवाद त के देखादेख पनि छैन। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दर्जनौं आरोपसहितको प्रस्ताव ल्याएपछि सम्बन्धमा थप तिक्तता छ। एकअर्कामा मुखै हेर्न नपाए पनि हुन्थ्यो भन्नेसम्मको अवस्था निम्तेको छ।

आफूमाथि पार्टीभित्रकै सहयोद्धाबाट आफ्नो ‘राजनीतिक जीवन नै सिध्याउने गरी आरोपपत्र’ आएपछि ओलीले मंसिर ३ को सचिवालय बैठकमा लिखित रूपमा यथोचित जवाफ प्रस्तुत गर्ने बताएका थिए। आरोप प्रमाणित नभए अर्को अध्यक्षले पनि हट्नुपर्नेजस्ता खुला चुनौती दिएका ओलीलाई जवाफ लेख्न १० दिनको समय मिलेको छ।

त्यसपछि त नेकपाको विवाद झन् मोर्चाबन्दीमा विकास भइरहेको छ। गुटगत गतिविधि तिक्त रूपमा झांगिइरहेको छ। दुई अध्यक्षबीच संवादहीनता रहे पनि ओली निकट नेताहरू महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङसँग दाहालले मंसिर ५ मा पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरे।

तर, महासचिव पौडेलले दाहाललाई सचिवालयमा प्रस्तुत प्रस्ताव तल्लो तहमा वितरण नगर्न र फिर्ता लिन जोड गरे। दाहालले भने अस्वीकार गरे। मंगलबार मात्रै पनि परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवाली दाहालको निवास खुमलटार पुगे। झन्डै ४५ मिनेट दाहालसँग एक्लै भलाकुसरी गरी फर्किए। अन्नपूर्ण पोस्ट् दैनिकबाट

Skip This

Omoda E5 Pro