काठमाडौं । भारतका लागि नेपाली राजदूतमा नियुक्त डा. निश्चलनाथ पाण्डे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारीका लागि मंगलबार नयाँदिल्ली जाने भएका छन्।
सोमबार भारतका लागि राजदूतमा नियुक्त भएका पाण्डेले दिल्ली पुगेर तत्काल आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत भ्रमणमा जाने तयारीमा छन्। सरकारले अहिलेसम्म औपचारिक मिति र कार्यतालिका सार्वजनिक गरेको छैन।
राजदूतमा सिफारिस भएपछि संसदीय सुनुवाइ समितिमा आफ्नो धारणा राख्ने क्रममा पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए। सोहीअनुसार भ्रमणको तयारी र दुई देशबीच आवश्यक समन्वयलाई तीव्रता दिन उनी दिल्ली जान लागेको बताइएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणका सम्भावित एजेन्डाहरू लगभग तय भइसकेका छन्। ती विषयलाई अन्तिम रूप दिन नेपाल र भारत दुवै पक्षबीच छलफल भइरहेको स्रोतको भनाइ छ।




प्रतिक्रिया