मुलुकको आर्थिक विकासका लागि उत्पादन तथा लगानी विस्तारलाई प्राथमिकतामा राख्नुपर्छ: अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपाली अर्थतन्त्र अहिले महत्वपूर्ण मोडमा रहेकाले उत्पादनमुखी आर्थिक गतिविधिलाई तीव्रता दिन आवश्यक रहेको बताएका हुन्।

उनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सके आर्थिक गतिविधि विस्तार हुनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुने उनको भनाइ थियो।

बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिक कार्यशैली र प्रभावकारी जोखिम व्यवस्थापनलाई विशेष प्राथमिकता दिनुपर्ने मन्त्री वाग्लेले बताए।

त्यस्तै, उनले बैंकिङ सेवालाई थप सरल, सुरक्षित, छरितो र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए। डिजिटल बैंकिङको विस्तारसँगै साइबर सुरक्षा र सेवाग्राहीको तथ्यांक संरक्षणमा पनि विशेष सतर्कता अपनाउन उनले बैंक व्यवस्थापनलाई आग्रह गरे।

नेपाल बैंक लिमिटेडको ऐतिहासिक विरासतलाई आगामी दिनको सफलतामा रूपान्तरण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न आवश्यक नीतिगत सहजीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए।