Logo

सुस्ताएको काउलेपानी घरवासले गति लिँदै, पर्यटक वृद्धि हुन थाले



लमजुङ, २० फागुन । बेँसीशहर नगरपालिका–३ काउलेपानी घरवासमा पर्यटक वृद्धि हुन थालेको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेबाट बन्द भएको सो घरवास यही फागुन १ गतेदेखि सञ्चालनमा आएको थियो ।

कोरोना कहर झण्डै ११ महिना सुनसान रहेको यहाँको घरवासमा पर्यटक आउन थालेसँगै पहिलाकै लयमा गति लिन थालेको छ । समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस घरवासमा यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकलाई खुला भएकै दिनबाट दैनिक ३०÷३५ न्यूनतम पर्यटकको आगमन भइरहेको काउलेपानी पर्यटन विकास समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिए । उनले भने, “शुक्रबार, शनिबार तथा बिदाको दिनमा भने १०० देखि २०० सम्म पर्यटक आउन थालेका छन् ।” विस्तारै पर्यटक आगमन हुँदै दैनिक ३००÷४०० पर्यटक आउने अपेक्षामा रहेको उक्त समितिले जनाएको छ । समितिका अनुसार यस घरवासमा आएको पर्यटकलाई अनिवार्य मास्क, स्यानिटाइजरलगायतका सुरक्षा मापदण्ड अपनाउन लगाएको छ भने घरवास सञ्चालकले पनि सोही मापदण्ड पालना गर्दै आएका छन् । कोभिडका कारणले जिल्लामा खुला गरिएका अधिकांश घरवासमा पर्यटकलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेका छैनन् ।

यहाँ भने पर्यटकलाई स्वागत तथा बिदाइ विगतकै जसरी गर्न थालिएको छ । त्यस्तै गाउँमा आएका पर्यटकलाई फूलमाला, सेतो टीका (अक्षता) ले स्वागत गर्दै सुस्वास्थ्यको कामनासहित रक्षा धागो बाँधिदिने, लोकल रक्सी तीनपटक गाउँलेले पर्यटकलाई खुवाउने गर्दछन् । अनि स्वागत गीत र नृत्य प्रस्तुत गर्ने, गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचार खाजा खुवाउने गरेको घरवास सञ्चालक लक्ष्मी श्रेष्ठले बताए ।

स्थानीयवासीले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत र पर्यटकलाई पनि सँगसँगै नचाउने पनि गर्दछन् । यस घरवासमा पर्यटकलाई गुरुङको लोपोन्मुख घाटु, घ्याब्रे नाच, कृष्ण चरित्रलगायतका विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्ने उनीहरुको भनाइ छ । त्यस्तै पर्यटकलाई स्वागत गर्दै विभिन्न सांस्कृति नृत्य प्रस्तुतपछि रातिको खानामा स्थानीय जातको चामलको भात, लोकल कुखुरा वा खसी, बोकाको मासु, गाउँमै फलाएको सागपात, आलु आदिको तरकारी, अचार र रुचाउनेलाई कोदोको सोमरस (रक्सी) पनि उपलब्ध गराउँदछन् । त्यस्तै छुट्टिने बेलामा बिदाइ गीत गाउँदै बाटोमा पर्यटकलाई खाजाका लागि कोशेलीस्वरुप सेलरोटी, अचार र कोदोको रक्सी उपहार दिएर पठाउने साह्रै मौलिक परम्पराले पनि यहाँ आउने पर्यटकको मन लोभ्याउँछ । रासस -File photo



प्रतिक्रिया दिनुहोस्