काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त हुँदै छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका रायमाझी साढे तीन वर्ष जेल बसेपछि रिहा हुन लागेका हुन् ।
रायमाझी हाल डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाउन जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाका आधारमा अदालतले उनलाई कैदमुक्त गर्न आदेश दिएको हो । रायमाझी गत कात्तिक २६ गते ६५ वर्ष पुगेका हुन् । अदालतको आदेशअनुसार उनलाई रिहा गर्न पठाइएको पत्र डिल्लीबजार कारागार पुगिसकेको छ ।
जिल्ला अदालत काठमाडौंले २०८३ असार ३० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८० वैशाख ३१ गतेदेखि थुनामा थिए ।
गत कात्तिक १३ गते न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले ज्येष्ठ नागरिकसम्बन्धी सुविधा प्रदान गर्दै उनलाई कैदमुक्त गर्न आदेश दिएको थियो ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई कसुरको प्रकृतिअनुसार २५ प्रतिशतसम्म कैद छुट दिन सकिने व्यवस्था छ ।
रायमाझीलाई ठगी कसुरमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको थियो । एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना पनि निर्धारण गरिएको थियो ।
कैद सजायमा ज्येष्ठ नागरिकको सुविधा पाएर रिहा हुन लागेका रायमाझीले भने विभिन्न कसुरमा तोकिएको जरिबाना रकम तिर्नुपर्नेछ ।




प्रतिक्रिया