बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा अलपत्र परेको छ।
नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरपालिकाले विसं २०७५ मा महत्त्वाकाङ्क्षी योजना अघि बढाएको थियो। तर, संरक्षण र व्यवस्थापन नहुँदा तालको अवस्था जीर्ण बन्दै गएको हो।
स्थानीय पूर्वाधार विकास र सौन्दर्य अभिवृद्धिका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ करिब १० करोड रुपैयाँ खर्च गरिसकेको छ। सौन्दर्यका लागि हालिएका आकर्षक रेलिङहरू भत्किएका छन् भने सिङ्गो ताल क्षेत्र झाडी र बुट्यानले भरिएर आफ्नो अस्तित्व नै गुमाउने अवस्थामा पुगेको नेपालगञ्ज–२२ पुरैनीका अगुवा चेतबहादुर थापाले बताए।
थापाका अनुसार कान्तिताल केवल भौतिक पूर्वाधार मात्र नभई जैविक विविधताको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण छ। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको प्राकृतिक बासस्थान रहेको छ। पर्यावरण र चरा संरक्षणको क्षेत्रमा कार्यरत अभियन्ताहरूले ताललाई पुरानै लयमा फर्काउन र यसको प्राकृतिक स्वरूप जोगाउन निरन्तर आवाज उठाइरहेका छन्। सरोकारवाला निकायलाई पटक-पटक घच्घच्याउँदा पनि हालसम्म कुनै ठोस सुनुवाइ हुन सकेको छैन।
झाडीले ढाकिएको यो ताल क्षेत्र रात परेपछि झनै जोखिमपूर्ण बन्ने गरेको छ। अहिले कान्तिताल लागुऔषध दुर्व्यसनीहरूको सुरक्षित जमघटस्थल बनेको छ। साँझपख यहाँ हुने शङ्कास्पद गतिविधिले आसपासका बासिन्दालाई त्रसित बनाएको थापाले बताए।
ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ उपमहानगरलाई राजस्व बुझाउने सम्झौतासहित ठेक्का लिएका फनबहादुर गुरुङले ताल परिसरमा बनाइएका रेलिङ र पूर्वाधारहरू लागुऔषध प्रयोगकर्ताहरूले तोडफोड गरेको हुन सक्ने बताए।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाहरू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरे। उनले भने, ‘विगतमा बनाइएका योजनाहरूले अपेक्षाकृत नतिजा दिन सकेनन्।’ सरोकारवाला निकायका प्रतिनिधिहरूसँग गहन छलफल गरेर कान्तितालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी नयाँ योजना बनाउने तयारी भइरहेको उनले जानकारी दिए।
कुनै समय नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको कान्तितालको तत्काल संरक्षण गरिनुपर्ने नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए।




प्रतिक्रिया