Logo

पाँच दलीय राजनीतिक संयन्त्र निर्वाचन प्रयोजनका लागि मात्रै होः कांग्रेस नेता लेखक



काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्र सरकारकलाई कमजोर बनाउन नभएर निकट भविष्यमा हुन लागेको राष्ट्रिय सभालगायतका निर्वाचनका लागि बनेको बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “राष्ट्रिय सभालगायतका निर्वाचनमा सहमतिका साथ प्रस्तुत हुने उद्देश्यले पाँच दलीय संयन्त्र बनेको हो । संविधान र कानुन विपरीत सरकारलाई दिशानिर्देश र निगरानी गर्ने या हस्तक्षेप, नियन्त्रण र दबाब सिर्जना गर्नका लागि बनेको होइन । यो स्थायी र लामो समय रहने समिति पनि होइन ।”

नेता लेखकले राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धन सहमति साथ जाने दाबी पनि गरे । त्यो प्रयोगले ल्याउने परिणाम अनुसार अरु निर्वाचनमा पनि सहकार्य हुने उनको भनाइ छ । उनले थपे, “राजनीतिक संयन्त्र निर्वाचनबारे छलफल गर्न बनेको हो । निर्वाचनबारे गठबन्धन दलमा वैचारिक विविधता छ । कार्यकाल पूरा गरेर गर्ने कि समयभन्दा पहिले एकैपटक गर्ने भन्ने विचार आएका छन् । समयमै होला वा चाँडो होला । निर्वाचन सरे पनि संविधान र कानुन बमोजिम हुन्छ, नसरे पनि संविधान र कानुन बमोजिम हुन्छ । त्यसमा हामी खुला छौं ।”

गठबन्धन दलहरुभित्र त द्वन्द्व छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “राजनीति भनेकै फरक फरक दृष्टिकोण र विचार हो । संसारमा कहीँ पनि द्वन्द्वविहीन राजनीति सम्भव छैन । पार्टी-पार्टीबीच द्वन्द्व हुन्छ, एउटै पार्टीभित्र पनि द्वन्द्व हुन्छ । पार्टीभित्रका समूहभित्र पनि द्वन्द्व हुन्छ ।”

एमसीसीलाई आवश्यकताभन्दा बढी विवादमा ल्याइएको आरोप लेखकले लगाए । उनले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा टुंग्याउँछौं भनिसकेको स्थितिमा विवाद गरिरहनुको अर्थ छैन । यो नेपालको अहित हुने योजना होइन । विश्व बैंक, एसियाली बैंक, चीन, भारत, युरोपियन मुलुकबाट लिएजस्तै सहयोग लिने हो । यसमा सबै दलका रहेका पूर्वप्रधानमन्त्रीहरु राजी हुनुभएको हो । आज आएर एमसीसी कसरी खराब भयो ?”

रौतहटलगायत सबै जिल्लाको कांग्रेस क्रियाशील सदस्यता विवाद सकिएको नेता लेखकले दाबी गरे । उनले भने, “अब महाधिवेशन हुने कुरामा कुनै आशंका छैन । यसमा कुनै किसिमको बाधा, अवरोध छैन । महाधिवेशन भनेको समयमा हुन्छ, तालिका बमोजिम नै हुन्छ । त्यसको विकल्प पनि छैन ।”



प्रतिक्रिया दिनुहोस्