Logo

वायु प्रदूूषणले स्वास्थ्यमा चुनौती



काठमाडौं, मङ्सिर १२ । केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूूषण बिग्रदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ ।

शनिबार देशका विभिन्न स्थानको वायुको गुणस्तर निकै बिग्रेको देखिएको छ । वातावरण विभागको वायु गुणस्तर मापनअनुसार सबैभन्दा बढी वायु प्रदूषणको स्तर सिमरामा बिग्रिएको छ ।

सिमरामा १९५ एक्यूआई रहेको छ भने विराटनगरमा १९४, पोखरामा १८९ एक्यूआई रहेको छ । काठमाडौँको कीर्तिपुरमा १६९, रत्नपार्कमा ११५, धनगढीमा १५९, जनकपुरमा १२२ एक्यूआई रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले एक्यूआई ५० सम्म भएको वायु स्वास्थ्यका लागि स्वस्थ भएको मानिन्छ । एक्यूआई १०० भन्दा माथि उक्लेपछि त्यस्तो वायु अस्वस्थ मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो अवस्थामा वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आह्वान गरेको छ ।

यसरी वायु प्रदूूषण बढेसंँगै विभिन्न किसिमका श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने भन्दै चिकित्सकले सावधानी अपनाउन जोड दिएका छन् । वायु प्रदूषणको सिकार बालबालिका तथा वृद्धवृद्धालाई बढी देखिने भन्दै चिकित्सकले प्रदूषण अवधिभर घरबाहिर निस्कन नहुने सुझाव दिएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्