काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी विभाजनको जिम्मेवार गगन थापा पक्ष रहेको आरोप लगाएका छन् । इतर पक्षको इलाम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले आफूहरूले पार्टी विभाजन नगरेको दाबी गरे ।
महतले अधिवेशन केही समयका लागि स्थगित गरेर राजनीतिक सहमति खोज्न वा अदालतको निर्णय पर्खन आफूहरूले आग्रह गरे पनि अर्को पक्षले दुवै प्रस्ताव अस्वीकार गरेको बताए ।
उनले भने, ‘अधिवेशन सार्नुस्। बीचमा राजनीतिक सहमति गरौँ, नभए अदालतको निर्णय पर्खौँ भन्दा उहाँहरूले दुवै कुरा नमानेर हतारहतारमा महाधिवेशन गर्नुभयो। त्यसकारण पार्टी फुटाएको हामीले होइन, पार्टी फुटाएको उहाँहरूले हो।’
नियमित महाधिवेशन भएको भए वैशाख–जेठमै सम्पन्न भइसक्ने उल्लेख गर्दै उनले अहिलेको घटनाक्रमले कांग्रेसको राजनीतिक भूमिका कमजोर बनाएको आरोप लगाए ।
महतले निर्वाचन आयोग र न्यायिक प्रक्रियामा समेत लेनदेनको विषय उठ्न थालेपछि अर्को पक्षले सरकारमाथि नियोजित प्रचार गरेको आरोप लगाउन थालेको टिप्पणी गरे ।
सर्वोच्च अदालतबाट आफूहरूकै पक्षमा निर्णय आउने विश्वास व्यक्त गर्दै उनले अर्को समूहमा गएका नेता तथा कार्यकर्तासमेत पुनः आफ्नो पक्षमा फर्किने दाबी गरे ।




प्रतिक्रिया