Logo

एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन?



काठमाडौं, पुस २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो ।

विवादकै कारण गत २५ र २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार साँझसम्म सार्वजनिक हुन नसक्नुमा ओलीको व्यवहारलाई लिइएको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूखुसी नेताहरूको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरो गठन, केन्द्रीय सदस्यमा मनोनयन र प्रदेश पदाधिकारी नियुक्त गरेका थिए । ओलीको मनोमानी कार्यशैलीको १० बुँदे सहमति पक्षधर नेता, पूर्वमाओवादी समूहका साथै ओली समूहकै केही नेताले विरोध गरेका छन् ।

‘पहिला–पहिला एमालेका निर्णय बैठक सकिने बित्तिकै सार्वजनिक हुन्थ्यो । तर, अहिले नेताहरूकै असन्तुष्टिका कारण निर्णय सार्वजनिक हुन सकेको छैन । अध्यक्ष ओलीको कार्यशैलीप्रति नेताहरूको असन्तुष्टि छ । त्यसलाई मिलाउने काम भइरहेको छ । सम्भवतः एक÷दुई दिनभित्रै पार्टीले पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गर्नेछ,’ एक नेताले भने ।

स्रोतका अनुसार अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका नेताहरूले असन्तुष्ट नेतासँग छलफल गरिरहेका छन् । छलफलपश्चात् बैठकका निर्णय सार्वजनिक गर्ने तयारीमा अध्यक्ष ओली रहेका छन् ।

बैठकमा ओलीको कार्यशैलीलाई लिएर उनी निकटकै नेताहरूले असन्तुष्टि व्यक्त गरेपछि ओली तनावमा छन् । ओलीनिकट भनिएका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बैठकमै आपत्ति जनाएका थिए ।

यस्तै, १० बुँदे सहमति पक्षधर नेताहरूले समेत आपत्ति जनाएका थिए । उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईका साथै नेताहरू घनश्याम भुसाललगायतले ओलीको प्रस्तावको सशक्त विरोध गरेका थिए ।

पूर्वमाओवादी समूहका उपाध्यक्ष रामबहादुर थापा, सचिव टोमबहादुर रायमाझी, सचिव लेखराज भट्ट, स्थायी समितिका सदस्यद्वय प्रभु साह, मणि थापालगायतका नेताहरूसमेत ओलीबाट असन्तुष्ट छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्