काठमाडौं, २२ साउन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सप्तरीबाट चुनाव लड्ने घोषणा गरेका राउतले यादवसँग चुनावमा सहयोगको अपेक्षा गरेको बताईएको छ ।
मधेशमा राउत र यादवका कार्यकर्ताबीच तिक्ततापूर्ण सम्बन्ध छ । राउतले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छन् । ठाकुरसँगको भेटमा पनि उनले आगामी चुनावमा सहयोगको माग गरेको बुझिएको छ । यता, राउत नेतृत्वको पार्टी आयोगले आह्वान गरेअनुसार सबैभन्दा पहिले दर्ताको लागि निर्वाचन आयोग पुगेको छ ।
युवा नेता विपी साहले जनाएअनुसार आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । उनले भनेका छन्–‘निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।
पार्टी उपाध्यक्ष ई बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।




प्रतिक्रिया