नाइजरबाट हजारौँ अरब घुमन्तेलाई देश छाड्न आदेश


काठमाडाैँ। दक्षिणपूर्वी नाइजरमा दशकौँदेखि बसोबास गर्दै आएका महामिद जनजातिका हजारौँ अरब घुमन्तेलाई यस वर्षको अन्त्यसम्ममा देश छाड्न आदेश दिइएको छ। स्थानीय अधिकारीहरूले आइतबार यो जानकारी दिएका हुन्।

नाइजरको सैन्य सरकारले महामिद समुदायका केही सदस्यले यस क्षेत्रमा सक्रिय जिहादी समूह बोको हरामलाई हतियार तथा अन्य सामग्री उपलब्ध गराएको आरोप लगाएको छ।

डिफा क्षेत्रका एक उच्च अधिकारीका अनुसार महामिद समुदायलाई सन् २०२६ डिसेम्बर ३१ भित्र आफ्नो मूल देश फर्किन निर्देशन दिइएको छ।

घुमन्ते समुदायको मुख्य बसोबास रहेको डिफा क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि बोको हराम र यसको प्रतिद्वन्द्वी समूह इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आईएसडब्लुएपी) को हिंसा जारी छ ।

गत नोभेम्बर ८ मा गभर्नर महामादौ इब्राहिम बागाडोमाले महामिद समुदायका प्रतिनिधिहरूलाई देश छाड्न अन्तिम चेतावनी दिएका थिए।

यसअघि अप्रिलमा गृह मन्त्रालयले डिफा र छिमेकी जिन्डर क्षेत्रका गभर्नरलाई महामिद समुदायको बसोबासका कारण सुरक्षा चुनौती बढेको भन्दै उनीहरूलाई देश निकाला गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । मन्त्रालयले समुदायका सदस्यको पहिचान गरी उनीहरूको नागरिकता प्रमाणित गर्ने कागजात खारेज वा फिर्ता लिनसमेत भनेको थियो।

अधिकारीहरूले गत महिना महामिद समुदायले मात्र प्रयोग गर्दै आएका विद्यालय र खानेपानीका इनार बन्द गर्न पनि आदेश दिएका थिए।

महामिद घुमन्ते समुदाय सन् १९७० को दशकमा चाडको अबेचे क्षेत्रमा परेको खडेरीबाट विस्थापित हुँदै नाइजर आइपुगेको थियो। पछि चाड र सुडानका द्वन्द्वबाट भागेका समूह पनि त्यहाँ पुगेका थिए।

चरन र पानीको अभाव तथा पशुधनको सङ्ख्या बढ्दै जाँदा स्थानीय बासिन्दा र घुमन्ते समुदायबीच पटकपटक हिंसात्मक झडप हुने गरेका छन्। सन् २०१८ मा भएका शान्ति सम्झौताले पनि क्षेत्रीय तनाव पूर्ण रूपमा कम गर्न सकेका छैनन्।