Logo

पर्यटन विकास र पहिचानका लागि सम्पदा संरक्षणमा जोड



काठमाडौं, १२ जेठ। नेपालको पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाको जोड दिएका छन् ।

नेपाल सम्पदा संघले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले नेपाल सम्पदाहरुको देश र काठमाडौ उपत्यका सम्पदा नै सम्पदाले भरिएको स्थान भएकोले यसको पहिचान जोगाउन सबैले उचित ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उपत्यकामा रहेका मूर्त, अमूर्त तथा प्राकृतिक सम्पदाहरुको संरक्षण आवश्यक भएको बताए । पछिल्लो समय सम्पदा बिग्रिदै गएकोमा चिन्ता व्यक्त गर्दै मेयर महर्जनले देशको पहिचान र समृद्धिका लागि सम्पदा संरक्षणमा सबै लाग्नु पर्ने बताए ।

‘सम्पदाको विषय अन्य विकासको अवधारणा भन्दा फरक हो । यसको लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहको सरकारले सोही अनुरुप सोच्न आवश्यक छ । यदि त्यसो गरिएन भने सम्पदा नाश हुने सम्भावना रहन्छ,’ उनले भने ।

नेपाल सम्पदा संघका अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले सम्पदा संरक्षणको लागि सबैको सामूहिक पहल र प्रतिबद्धता आवश्यक रहेको बताइन् । सम्पदाहरु मावन समाजको साझा सम्पत्ती भएको उल्लेख गर्दै उनले पूर्खाले छोडेर गएका सम्पदारुपी नासोलाई संरक्षण गरी भावी सन्ततीलाई हस्तान्तरण गर्नुपर्ने बतइन् ।

नेपाल सम्पदा संघका उपाध्यक्ष धर्मराज शाक्यले सम्पदा संघले विश्व सम्पदा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै सम्पदा संरषणको लागि जनचेतना आवश्यक भएको बताए ।

कार्यक्रमका अवसरमा सम्पदा संरक्षणको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको संघका महासचिव प्रकाश दर्नालले जानकारी दिए ।

संघका सदस्य विजय प्रधानका अनुसार विश्व सम्पदा दिवस २०२३ का अवसरमा २०२३ को अप्रिल १८ तारिखमा विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा काठमाडौंमा विविध कार्यक्रम पनि आयोजना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्