Logo

संसद्‌मा सत्ता पक्ष निरीह, प्रतिपक्ष हावी



काठमाडौं, जेठ १४ । प्रतिनिधिसभामा प्रतिपक्षी हावी हुँदा सत्ता पक्ष निरीह बन्दै गएको छ । सदन सञ्चालनका लागि प्रधानमन्त्रीसहित सत्ता पक्षका नेताहरुले प्रतिपक्षी दलका नेतामाथि लागेको भ्रष्टाचारको आरोपसम्बन्धी रेकर्ड हटाउनुपरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जलहरी र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्ने नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालको अभिव्यक्ति शनिबारको संसद् बैठकमा रेकर्डबाट हटाइएको हो ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नभएको बताउँदै ओलीविरुद्धको अभिव्यक्ति हटाउन सकिने बताएका थिए। बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उठेर अवरोध गर्ने तयारी गरेपछि सभामुख घिमिरेले प्रधानमन्त्रीलाई सांसद लेखनाथको दाहालको अभिव्यक्तिका सन्दर्भमा प्रस्ट पार्न आग्रह गरेपछि प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्ति हटाउन सकिने बताएका थिए ।

संसद् सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यका साथ प्रधानमन्त्री प्रचण्डले रोस्टममा उभिएर भने– ‘पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो र सोही संस्थाले काम गरेको विषयमा विवाद छैन ।

जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानविन भइरहेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ । जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन रहेकै छ ।’

प्रधानमन्त्री प्रचण्डको उक्त प्रस्टीकरणपछि सभामुख घिमिरेले स्वास्थ्य सामग्रीको खरिदमा भएको २ अर्बको भ्रष्टाचार र पशुपतिको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए। उक्त निर्देशनसँगै एमालेका सांसदहरु सिटमा बसेपछि सभामुख घिमिरेले छलफललाई अघि बढाएका थिए ।

संसद्मा चलिरहेको नीति तथा कार्यक्रमको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेबाट भएको अवरोध हटाउन सत्ताधारी दलहरुले ओलीलाई चोख्याएको टिप्पणी गर्दै एक सांसदले भने– ‘संसद्बाटै उठेका विषयलाई सरकारले गम्भीरताका साथ लिनुपर्नेमा प्रतिपक्षको आवाज थाम्न नसकेर रेकर्डबाटै हटाएको छ । यो परम्परा उचित हैन ।’

शनिबारको संसद् बैठक शुरु हुनुअघि प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्दै जलहरीमा भ्रष्टाचार भएको आरोपयुक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने सहमति भएको थियो ।

माओवादी सांसद लेखनाथ दाहालले बुधबारको प्रतिनिधिसभामा ओली सरकारले पशुपतिनाथमा चढाइएको जलहरी पित्तलको लगाइएको र कोभिडको समयमा स्वास्थ्य सामग्री खरिद गर्दा २ अर्ब रुपियाँ भ्रष्टाचार गरेको भन्ने आरोप लगाएका थिए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot