Logo

कोसीमा फेरि तनाव



इटहरी, जेठ १५। कोसी प्रदेशसभामा फेरि तनाव उत्पन्न भएको छ । आइतबार कोसी प्रदेश सरकारले बजेट अधिवेशन सुरु गरेसँगै प्रदेशमा पहिचानवादीको आन्दोलनले फेरि तनाव उत्पन्न भएको हो ।

कोसी प्रदेशसभा भवननजिक विराटनगरको दोवकोटा चोकमा आइतबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म प्राप्त विवरणअनुसार सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएका हुन् । प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले प्रदेशसभा नजिकै उग्रप्रदर्शन गरेपछि दोहोरो झडप भएको हो ।

झडपमा परेर नेपाल प्रहरीका २३ जना र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन् । ‘प्रारम्भिक चरणमा भएकाले सबै घाइतको विवरण प्राप्त भइसकेको छैन,’ प्रहरी स्रोतले भनेको छ । घाइतेको विराटनगरकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट १६ राउन्ड हवाई फायर र ६१ राउन्ड अश्रुग्याँस प्रहार गरेको सुरक्षा स्रोतले जनाएको छ । नेपाल प्रहरीले ४४ र सशस्त्र प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको हो । बाँस, लाठी, भालालगायतका घरेलु हतियारसहित उग्रप्रदर्शन गर्दै आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको हो । प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बियरका बोतल निरन्तर प्रहार गरिएको थियो ।

ढुंगामुढा हुँदा मन्त्रालयको झ्यालका शिशा फुटेका छन् । मन्त्रालयको गाडीमा समेत क्षति पुगेको छ । मन्त्री निर्मला लिम्बुको कार्यकक्षमा प्रदर्शनकारीले हानेका ढुंगा थुप्रिएका थिए । मन्त्रालय ’चयगलम रहेका केही घरका शिशा पनि आन्दोलनकारीको ढुंगाले लागेर फुटेका छन् । प्रदेशसभातर्फ अघि बढ्न नपाएका प्रदर्शनकारीले अन्धाधुन्दा ढुंगा प्रहार गर्दा मन्त्रालयमा क्षति पुगेको हो ।

फागुन १७ गते प्रदेश १ को नाम कोसी राखिएपछि त्यसको विरोधमा पहिचानवादी सडकमा उत्रिएका हुन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot