Logo

खुल्यो सर्वसाधारणका लागि रत्न मन्दिरको ढोका



पोखरा, जेठ १६ । फेवाताल किनारको सुन्दर रत्न मन्दिर गणतन्त्र दिवस अवसरमा सर्वसाधारणका लागि खुला भएको छ । २०६२÷६३ को दोस्रो जनआन्दोलनसँगै नेपालमा आएको गणतन्त्रको १५ वर्ष पूरा भइसक्दासमेत नेपाल ट्रस्टको नाममा रहेको रत्न मन्दिर खुल्न सकेको थिएन ।

कहिले खुल्ने भन्ने बहुप्रतीक्षाको विषयको रहेको रत्न मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती राईले सोमबार एक समारोहबीच सर्वसाधारण प्रवेशका लागि उद्घाटन गरे । उनले यो खुलासँगै समग्र पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिए ।

पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर खुलेसँगै समग्र पोखरा क्षेत्रको पर्यटनमा ठूलो सहयोग पुग्ने यहाँका पर्यटन व्यवसायीको पनि विश्वास छ ।

तत्कालीन राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नका नाममा पोखराको फेवाताल किनारमा रत्नमन्दिर बनाएका थिए । २०५८ को दरबार हत्याकाण्डपछि राजपरिवारका सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको नाममा आएको थियो । जुन अहिले नेपाल ट्रस्ट ऐन, २०६४ कार्यान्वयनमा छ ।
प्राकृतिक सौन्दर्यका दृष्टिले रत्न मन्दिर र हिमागृह निकै मनमोहक छ । रत्न मन्दिर खासगरी पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बस्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रकी कान्छी श्रीमती रत्नको नामबाट नै दरबारको नाम राखिएको हो । रत्नलाई उनले उपहारका रूपमा यो मन्दिर बनाइदिएको पाइन्छ ।

२०१३ सालमा दरबारको निर्माण सुरु गरी २०१५ सालमा निर्माण पूरा भएको थियो । तत्कालीन राजा महेन्द्रका पालामा बनेको दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो । पूर्वराजा महेन्द्रका माहिला भाइ हिमालय वीरविक्रम शाहका नामबाट हिमागृह निर्माण गरिएको थियो । रत्न मन्दिर २१ रोपनी र हिमागृह १० रोपनीमा छ । दुवै दरबारसहित रत्न मन्दिरका नाममा कुल १ सय ७४ रोपनी जग्गा छ । रत्न मन्दिरले भने १ सय ११ रोपनी ओगटेको छ । यसभित्र नेपाली सेनाको भगवती दल गण छ ।

रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । भुइँ तलामा अतिथि कक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत ९एडीसी० बस्ने कोठा र आरामकक्ष छन् । दोस्रो तलामा पाँचवटा कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठक कक्ष छ । जसमा राजपरिवारका सदस्य मात्र बैठक बस्ने गर्थे । राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ । त्यसबेलाका खेल सामग्री सुरक्षित छन् । दोस्रो तलामा युवराजको शयनकक्षसहित तीनवटा पाहुना कोठा छन् । राजपरिवारका नजिकका नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्