Logo

स्वास्थ्यमा २० अर्बले बजेट घट्यो



काठमाडौं, जेठ १६। सरकारले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा स्वास्थ्यको बजेट झण्डै २० अर्बले घटेको छ ।

आर्थिक वर्ष २०७९.८० मा स्वास्थ्यलाई १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटलाई संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड गरी छुट्याइएको थियो । तर, यो वर्षको स्वास्थ्यको बजेटलाई संघ, प्रदेश र स्थानीय तहमा नछुट्याई एकमुष्ट उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले २८ बुँदामा साँघुरो पारेर सार्वजनिक गरेको स्वास्थ्यसम्बन्धी बजेटमा विगतकै शीर्षकलाई तलमाथि पारी बजेटको सिलिङ कटौती गरिएको स्पष्ट देखिन्छ । स्वास्थ्यका कतिपय विषयलाई समेत अन्यत्र मिसमास गरिएको छ ।

बजेटमा निःशुल्क औषधि, अस्पतालहरूको क्षमता वृद्धि, स्वास्थ्य बिमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण, खोप सेवा, उपचारलाई समन्वयात्मक रूपमा कार्यान्वयन गर्नेलगायतका विषयहरू विगतमा झैं यसपटकको बजेटमा पनि समेटिएको छ ।

डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि मनसुनपूर्व र पछि ‘डेंगु रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न पनि बजेटको व्यवस्था गरिएको छ । त्यसै गरी औलो, कालाजार, हात्तिपाइलेलगायतका अन्य मौसमी र किटजन्य रोगको रोकथाम गर्न पनि बजेटमा आवश्यक रकम विनियोजन गरिएको छ ।

बजेटमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय श्ययामा विस्तार गरिने, पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवारोग अस्पताल आगामी वर्षसम्म सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख छ ।

बजेटमा सरुवारोग अस्पताल निर्माण र विस्तारका लागि ४६ करोड विनियोजन गरिएको छ । क्षयरोगमुक्त नेपाल अभियानअन्र्तगत रोगीहरूको पहिचान गर्न निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरिएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड रुपियाँ विनियोजन गरिएको छ भने यसै कार्यक्रमअन्र्तगत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने घोषणा गरिएको छ ।

बहुसंख्यक जनताले सेवा प्राप्त गर्नेगरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइनेछ । हाल ३ सय २२ स्थानीय तहमा निर्माणाधीन ५, १० र १५ श्ययाका अस्पताल निर्माण कार्यका लागि ८ अर्ब विनियोजन गरिएको छ । आगामी वर्ष निर्माण सम्पन्न हुने १ सय अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८२ करोड रुपैयाँ विनियोजन गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्