Logo

राप्रपाले विश्वासको मत दिने प्रतिवद्धता जनाएको छ, अरु दलसँग पनि छलफलमा छुः मुख्यमन्त्री कार्की



काठमाडौं, १० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आफूहरु विश्वासको मतको तयारीमा रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँग संवाद गर्दै उनले विश्वासको मतका लागि तयारीमा रहेको र आफूले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्ने बताएका हुन् ।

‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्नेक्रममा सभामुखको दुरुपयोग गरिएको घटनालाई असंवैधानिक, गैरसंवैधानिक मानेर दुई पटक आदेश गर्यो । दोस्रो आदेशबाट १६८ (३) को सरकार ठूलो पार्टीको हिसाबले मैले प्राप्त गरेको छु । अब २० गतेभित्र विश्वासको मत लिनपर्छ । हामी त्यो तयारीमा छौं । हाम्रो विश्वास छ– हामी विश्वासको मत प्राप्त गर्छौं,’– उनले भने ।

विश्वासको मतका लागि प्रदेश सभामा प्रतिनिधित्व रहेका ६ वटै दलहरुसँग कुराकानी अगाडि बढाइएको उनले बताए । संसद्मा छ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने प्रतिवद्धता जनाएको पनि उनले बताए । अन्य दलहरुले आफूलाई विश्वासको मत दिएर प्रदेश सरकारको स्थायित्व चाहेको भएपनि संघीय सरकारको हस्तक्षेपमा प्रदेश सरकार परेको उनले गुनासो गरे । उनले प्रदेश अझै स्वयत्त भइनसकेको बताउँदै प्रदेशका राजनीतिक दलहरु आफैं निर्णय गर्ने ठाउँमा नरहेको बताए ।

‘संसद्मा भएका छ दलका संसद्भित्रका संसदीय दलका नेताहरु र त्यहाँका प्रभावशाली नेताहरुसँग कुराकानी अगाडि बढाएको छु । उहाँहरु सबै प्रदेशमा राजनीतिक स्थायित्वको चिन्तामा हुनुहुन्छ । प्रदेशमा नौ महिनामा चार पटक मुख्यमन्त्री बन्ने घटना परिघटना भयो । यसले प्रदेशप्रतिको वितृष्णा फैलाउने काममात्रै होईन । हाम्रो प्रदेशको नियमित काम कारबाही गतिविधिहरु ठप्प प्रायः छ । यसो भएको हुनाले अब यसलाई हामीले निकास दिनुपर्छ ।’ उनले भने, ‘निकासका लागि तपाईँ मुख्यमन्त्री हुनुहुन्छ पहल गर्नुस् भन्नुभएको छ । मैले सबै ठाउँमा पहल गर्दा नेपालको राजनीतिमा दूर्भाग्य भन्नुपर्छ कि अहिले प्रदेशहरु स्वायत्त भइसकेका छैनन् । हाम्रो प्रदेशका कुनै पनि राजनितिक पार्टीहरु आफूले निर्णय गर्नसक्ने ठाउँमा उभिएका छैनन् ।’

राप्रपा विश्वासको मतको पक्षमा क्लियर रहेको बताउँदै उनले कांग्रेस, माओवादी केन्द, एकीकृत समाजवादी र जसपा माथिल्लो नेतृत्वको आदेशको पर्खाइमा रहेको बताए ।

‘यसमा राप्रपा क्लियर छ । अहिले हामी राजनीतिक स्थायित्वका लागि सबैभन्दा ठूलो दल भएको नाताले नेकपा (एमाले) को नेतृत्वमा हामी अगाडि बढ्न तयार छौं । अन्य विश्वासको मत जुटाउनु, हामी दिन्छौं भन्नु भएको छ । अरु दलहर सबै कुराहरुमा हामीसित तल कुराकानी गर्दा सहमत हुनुहुन्छ ।’ उनले भने, ‘तर, उहाँहरु के भन्नुहुन्छ भने– हाम्रो माथिको नेतृत्वले के भन्छ, त्यो पर्खेर बस्छौं भन्नु भएको छ । यसले हाम्रो संघीयताको मूल मर्ममाथि प्रहार गरेको छ । हाम्रो संघीयता वास्तवमा प्रदेशसम्म पुगेकै छैन ।’

प्रदेश सरकारलाई विश्वासको मत दिन राप्रपा तयार रहेको बताए । साथै, सघन रुपमा कांग्रेससँग छलफल भइरहेको पनि उनको भनाई छ । कांग्रेसको प्रदेश तहको नेतृत्वसँग आफूले पनि छलफल गरिरहेको बताउँदै उनले संस्थागत हिसाबले पनि छलफल भइरहेको बताए । ‘कांग्रेससँग कुरा भइराखेको छ । मैले आफूले पनि गरेको छु । हाम्रो पार्टीले संस्थागत हिसाबले पनि गरेको छ,’– कार्कीले .भने ।

कांग्रेसको चाहना संविधानको धारा १६८(५) मा गएर सरकार बनाउने रहेको उनले बताए । १६८(५) निर्दलीय धारा रहेको बताउँदै उनले उक्त धारामा सरकारको अभ्यास गरिए एक महिनाभित्र चुनाव घोषणा हुने उनले दाबी गरे ।

‘उहाँहरुले अझसम्म बुझ्नु भएको छैन र संविधानको एउटा धारा छ हामीसँग १६८ (५) जसलाई निर्दलीय धारा भन्दा पनि हुन्छ । पार्टी सिस्टमलाई त्यसले अपनत्व दिँदैन । कुनै व्यक्तिलाई सरकार बनाउने अथाव फाल्ने सन्दर्भमा कारबाही गर्ने अथवा ह्वीप लागू गर्ने हुँदैन । बहुदलीय सिस्टममाथि चुनौति दिन धारा पनि संविधानमा रहेको छ । त्यहाँ पुगेपछि भन्ने कतिपय साथीहरुको कुरा छ । त्यहाँ पुग्नु भनेको चाहिँ यदि पाँचमा पुग्यो भने त्यसको एक महिनाभित्र चुनाव घोषणा हुन्छ । त्योभन्दा अर्को विकल्प छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्