Logo

चन्दाबाट कवर्डहल स्तरोन्नति



म्याग्दी, २५ असोज । खेलाडीले चन्दा सङ्कलन गरेर म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कालीपुल कवर्डहलको स्तरोन्नति गरेका छन् ।

ब्याडमिन्टन खेलाडीले कवर्डहलभित्र ‘म्याट’ राखेर स्तरोन्नति गरेका हुुन् । जिल्ला खेलकुुद विकास समिति, ब्याडमिन्टन सङ्घ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन सङ्घको संयोजनमा दुई ब्याडमिन्टन कोर्ट (मैदान) मा ‘लेलिन ब्राण्डको म्याट’ बिछ्याइएको हो ।

बेनी नगरपालिका ब्याडमिन्टन सङ्घका अध्यक्ष सज्जन शाक्यले रु नौ लाख खर्चेर म्याट बिछ्याएको बताए । “म्याट बिछ्याएर ब्याडमिन्टन कोर्टको स्तरोन्नति गरिएको हो”, उनले भने, “खेलाडीबाट चन्दा सङ्कलन गरेर म्याट खरिद गरेका हौँ ।”

ब्याडमिन्टन खेलाडीले प्रतिव्यक्ति एक हजारदेखि पच्चिस हजारसम्म सहयोग गरेका छन् । रु पाँच हजारभन्दा बढी सहयोग गर्नेहरुको नामावली शिलालेखमा राखिने सङ्घले जनाएको छ । बेनीको कवर्डहलको ब्याटमिन्टन कोर्टमा यसअघि काठ बिछ्याएर पार्केटिङ गरिएको थियो । काठको पार्केटिङ भएको कोर्टमा खेल्दा चिप्लने, लडेर हात खुट्टा भाँचिने र चोटपटक लागेर खेलाडी घाइते हुने गरेका थिए । जिल्ला बाहिरको म्याट बिछ्याएको कोर्टमा हुने प्रतिस्पर्धामा खेलाडीलाई खेल्न बानि नपर्दा समस्या भएको थियो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले ब्याडमिन्टन खेलको सम्भावना देखिएकाले यसको विकासका लागि कवर्डहलको स्तरोन्नति गरिएको बताए । “म्याट बिछ्याउन खेलाडीले चन्दाबाट उठाएको पैसा नपुुगे खेलकुद विकास समिति र बेनी नगरपालिकामार्फत ब्यावस्थापन गर्छौं”, उनले भने, “खेलाडीले सुरक्षित रुपमा खेल्न पाउनुका साथै दुर्घटना घट्ने र खेलमा थप सुधार भएर पदक जित्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

म्याग्दीमा पछिल्लो समय ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । बेनीको कवर्डहलको अलावा विभिन्न सरकारी कार्यालय र विद्यालयमा पनि ब्याटमिन्टन कोर्ट बनाएर खेल्ने गरेका छन् । खुला ठाउँको कोर्टमा पानी पर्दा र गर्मी हुँदा खेल्न मिल्दैन ।

शारीरिक व्यायमका लागि ब्याडमिन्टन खेल प्रभावकारी भएको खेलाडी लोकेश पुुन मगरले बताए । कर्मचारी, व्यवसायी, शिक्षक, बैंक, सहकारीकर्मी शारिरिक व्यायमका लागि बिहान, बेलुकीको समयमा ब्याडमिन्टन खेल्ने गर्छन् ।

बेनीका अलावा तातोपानी, बाबियाचौर, ताकम, मुना, मराङलगायत ग्रामीण क्षेत्रमा पनि ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष हिमालय कार्कीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्