बाढीपीडितलाई प्रधानमन्त्री बालेनले भने-‘हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं,हजुरहरूसँग यो राज्य छ’


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–१० बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले उद्धार गरेको घटनाले खोज तथा उद्धारमा सरकार अझै दृढतापूर्वक लागिरहेको सन्देश दिएको बताएका छन्।


प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवनसमेत बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। उनीहरूका लागि ह्वीलचियर तथा वाकर उपलब्ध गराउनुका साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसमेत प्रदान भइरहेको उनले जानकारी दिए।


अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर ज्येष्ठ नागरिकका लागि छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउँदै शाहले भनेका छन्, ‘हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’


बाढीका क्रममा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले आफन्त गुमाएका नागरिकको आक्रोश स्वभाविक भएको बताए। पीडितको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने उल्लेख गर्दै शाहले पीडामा रहेका मानिसमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिनेहरूप्रति सरकार निर्मम हुने चेतावनी दिएका छन्।